मन्त्रालयको विषयमा एमाले र नेकपा एसलाई ‘जुधाउँदै’ मुख्यमन्त्री

हेटौंडा- बागमती प्रदेशमा मन्त्रालय बाँडफाँडको विषय थप पेचिलो बनिरहेको छ । सत्ता गठबन्धनभित्र मन्त्रालय हेरफेरको विषयमा हानथाप जारी छ ।बागमतीमा १२ वटा मन्त्रालय १३ जना मन्त्री छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा एकीकृत समाजवादीबाट रमा आले मगरलाई विनाविभागीय मन्त्री नियुक्त गरेपछि गठबन्धन दलमा मन्त्रालय बाँडफाँडको विषयमा हानथाप भइरहेको हो । नेकपा एमालेले ठूलो दलको हैसियतमा पाँच वटा मन्त्रालय लिनुपर्ने तर्क प्रस्तुत गरेको छ भने एकीकृत समाजवादीले दुई वटा मन्त्रालयमा एउटा महत्वपूर्ण मन्त्रालय खोजेको छ ।
मन्त्रालय हेरफेरमा मुख्यमन्त्री जम्कट्टेलको भूमिकालाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीभित्र चर्काचर्की बहस हुने गरेको छ । माओवादीले लिइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालय एकीकृत समाजवादीलाई दिने प्रतिबद्धता जनाएर २० चैतमा जम्कट्टेलले रमा आले मगरलाई विनाविभागीय मन्त्री नियुक्त गरे । जम्कट्टेलले मगरसँग एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाललाई साछी राखेर भौतिक मन्त्रालय दिने वचन दिएका थिए ।
तर, हालसम्म पनि उनले वाचा पूरा नगरेको भन्दै मगर असन्तुष्ट बनेकी छन् । उनले सोमबार साझाकुरासँग प्रतिक्रिया ब्यक्त गर्दै मुख्यमन्त्रीको भूमिकालाई लिएर आफूले सोच्ने बेला आएको बताएकी छन् । २० दिनसम्म मन्त्रालयको जिम्मेवारी नदिएको भन्दै उनी असन्तुष्ट बनिन् । ‘मलाई एक हप्ताभित्र भौतिक मन्त्रालय दिन्छु भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको हो । अहिले खानेपानी मन्त्रालय लिनुस् भनिरहनु भएको छ’, मगरले भनिन् । खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय एमालेका एकालाल श्रेष्ठले सम्हालिरहेका छन् ।
एकीकृत समाजवादीले गठबन्धनमा शक्ति सन्तुलनका लागि भौतिक पूर्वाधार मन्त्रालय मागेको मगर बताउँछिन् । ‘माओवादीबाट मुख्यमन्त्री हुनुहुन्छ । एमालेले आर्थिक मामिला मन्त्रालय लियो । अब तेस्रो ठूलो मन्त्रालय हाम्रो पार्टी (एकीकृत समाजवादी)ले पाउनुपर्ने स्वभाविक छ नि’, मगरले सुनाइन् । उनले आफूलाई तत्काल मन्त्रालयको जिम्मेवारी नदिए राजीनामा दिन बाध्य हुने बताइन् । मुख्यमन्त्री जम्कट्टेल र मगरबीच आइतबार मन्त्रालयको जिम्मेवारीको विषयलाई लिएर छलफल भएको छ । भेटमा जम्कट्टेलले खानेपानी मन्त्रालय लिन आग्रह गरेको मगरले बताइन् । तर, आफूले सहमतिअनुसार भौतिक मन्त्रालयमै अडान लिएको मगरको भनाई छ ।
जम्कट्टेलले सहमति अनुसार भौतिक नदिएर एमालेले लिइरहेको खानेपानी दिन खोजेपछि एमाले पनि असन्तुष्ट बनेको छ । एमालेले एकीकृत समाजवादीलाई मन्त्रालय दिने विषय मुख्यमन्त्रीको निजी मामिलाको रुपमा टिप्पणीगरिरहेको छ । एमालेका मुख्य सचेतक मधुसुदन पौडेलले मन्त्रालय हेरफेरको विषय मुख्यमन्त्रीको विषय भएको बताए । ‘हामीलाई सोधेर उहाँ (मुख्यमन्त्री)ले मन्त्री थप्नु भएको पनि होइन । उहाँले के दिन्छु भनेर नियुक्त गर्नु भएको हो, त्यो उहाँको विषय हो’, पौडेलले भने ।
प्रदेशको मन्त्रालय भागबण्डा र न्यूनतम साझा कार्यक्रम निर्माणका सम्बन्धमा गठित कार्यदलले पनि मन्त्रालय हेरफेरको विषय टुंगो लाग्न सकेको छैन । कार्यदलको केही समयअघि काठमाडौंमा बसेको बैठकमा एमालेले मुख्यमन्त्रीले मन्त्रालय संख्या भन्दा माथि गएर मन्त्री नियुक्त गरेको विषयमा प्रश्न उठाएको थियो । मगरले सपथ लिएकै दिन अर्थात् २० चैतमा एमालेले दिउँसो थप चार मन्त्रीको सपथ गराएको थियो ।
एमालेले बाँकी चारवटै मन्त्रालयमा मन्त्री पठाएपछि एकीकृत समाजवादीकी मगर हालसम्म विनाविभागीयमै सीमित छिन् । मन्त्रालय बाँडफाँडमा एमाले र एकीकृत समाजवादीबीच राजनीतिक तिक्तता देखिएको छ । जुन तिक्ततामा मुख्यमन्त्री जम्कट्टेलको भूमिकाले मलजल गरिरहेको नेताहरुको गुनासो छ । जम्कट्टेल माओवादीले लिएको मन्त्रालय त्याग्न तयार देखिएका छैनन् । मन्त्रालयको भागबण्डामा हानथाप गरिरहँदा चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम अधुरै रहने निश्चित देखिएको छ ।