सिकाई प्रभावकारी बनाउन निर्देशन

साझाकुरा
२०८१ बैशाख ११, मंगलवार ११:२७

हेटौंडा- शिक्षा विकास तथा समन्वय इकाईप्रमुख दिनानाथ गौतमले युगलाई आत्मासत गर्दै सिकाइ प्रभावकारी बनाउन शिक्षकलाई निर्देशन दिएका छन् ।सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२ मा अध्यापनरत शिक्षकको लागि विषयगत पाठ्यक्रम, विशिष्टकरण तालिका, मूल्यांकन, कार्यमूलक अनुसन्धान तथा आइसीटीसम्बन्धी ३ दिने तालिम समापन गर्दै गौतमले शिक्षण सिकाइमा शिक्षकको प्रयास अपरिहार्य रहेको बताए । आजको युगमा प्रविधिलाई आत्मासात गरेर सिकाइएन भने गुणस्ततीय उपलब्धि हासिल नहुने उनले बताए । विगतमा के सिक्यौ ? नभनी अहिलेको सिकाइ उपलब्धि कसरी राम्रो गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका लागि वडा कार्यालय सधैं तयार रहेको हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले बताए । शिक्षकले आफूलाई समयअनुसार दक्षता अभिवृद्धि गर्दै जानुपर्ने अध्यक्ष महर्जनले बताए । आगामी वर्षको नतिजा अझै उत्कृष्ट गराउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले बताए ।विद्यार्थीलाई बिद्यालयमा टिकाउ, सिकाउ र दक्ष जनशक्तिको रुपमा बजारमा बिकाउको लागि शिक्षकको लगानी महत्वपूर्ण हुने प्रध्यानाध्यापक परमानन्द सरोज कर्णले बताए ।

शिक्षकहरु एकीकृत पाठ्यक्रमबारे अपडेट हुनुपर्ने भएकोले सिकाइ कहिल्यै पूरा नहुने तथ्यलाई मनन् गर्न सहायक प्राध्यापक सागर खतिवडाले आग्रह गरे । सही तरिकाले सिकाउने र सही मूल्यांकन गर्न कार्यक्रम उपयोगी हुने खतिवडाले बताए । नयाँ एकीकृत पाठ्यक्रम अनुसार अध्यापन गराउन पाठ्यक्रम प्रबोधिकरण गरिएको कार्यक्रम संयोजक खेमराज लामिछानेले बताए । त्रैमासिक परीक्षाको मूल्यांकन राख्ने, ग्रेडिङ गर्ने क्रियाकलापलाई व्यवहारिक बनाउन आवश्यक भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*