ऐतिहासिक जनआन्दोलनको १८ वर्षःमकवानपुरे सहित बागमतीका १० जना सहिद भए

हेटौंडा- २०६२ साल चैतमा सुरु भएको शान्तिपूर्ण आन्दोलन १९ दिनसम्म चलेर २०६३ वैशाख ११ मा लोकतन्त्र बहाली भएको थियो । जसकारण बैशाख ११ मा लोकतन्त्र दिवस मनाउन थालिएको थियो ।जनता नै सर्वोपरि हुने मान्यताका साथ शासनप्रणालीमा प्रत्यक्ष वा परोक्षरुपमा सहभागिता रहने, स्वतन्त्रता, समानता, विधिको शासन, बालिगमताधिकार, आवधिक निर्वाचन, सुशासन आदि विविधपक्षहरु प्रतिबिम्बित भएको शासन प्रणालीलाई लोकतन्त्र मानिन्छ ।
मुलुकमा लोकतन्त्र आएता पनि यी सबै विषय पूर्ण लागू भए वा भएनन् त्यो छुट्टै बहसको विषय बन्न सक्छ । तर, लोकतन्त्र ल्याउनकै लागि ज्यान आहुति दिनेमा बागमतीका १० जना छन् । जसमध्ये एकजना मकवानपुरका बासुदेव घिमिरे पनि हुन् ।
नेपालमा जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, २०४६ सालको आन्दोलनपछि संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्र, माओवादी सशस्त्र जनयुद्धहुँदै तत्कालीन विद्रोही माओवादी र सात दलबीचको सहमतिपछि जनआन्दोलन सुरु भएको थियो । २०६२ चैत २४ गतेदेखि नेपालमा दोस्रो जनआन्दोलन सुरु भएको थियो । जनआन्दोलनका क्रममा बागमती प्रदेशअन्तर्गत १० जनाले ज्यान गुमाउनु परेको थियो ।
‘जनआन्दोलन र मानव अधिकार’ नामक पुस्तकमा उल्लेख भएअनुसार ज्यान गुमाउनेहरुमा मकवानपुरका ३० वर्षीय बासुदेव घिमिरे छन् । उनको घर हालको मकवानपुरगढी गाउँपालिका हो । तत्कालीन आमभञ्ज्याङ गाविस–३ थर्पेडाँडाका बासुदेव घिमिरेको जनआन्दोलनका क्रममा काठमाडौंको कलंकीमा मृत्यु भएको थियो । २०६३ वैशाख ७ गते कलंकीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट उनको मृत्यु भएको थियो । ३० वर्षीय घिमिरे २०६२ चैत २४ गतेदेखि कलंकीको आन्दोलनमा अग्रपंक्तिमा थिए ।
२०३२ भदौ २५ गते आमभन्ज्याङ गाविस–६ पानीघाटमा जन्मिएका उनी कामको खोजीमा काठमाडौं छिरेका थिए । उनी राम्रो फुटबल खेलाडी पनि थिए । उनी कलंकीमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनको मृत्यु हुँदा छोरा सानै थिए । उनको आमा करिब दुई वर्षअघि बितेकी छन् भने वृद्ध बुवा घरमै छन् । घिमिरेसँगै काभ्रेका ३६ वर्षका भीमसेन दाहाल, नवलपरासीकी ३० वर्षीय तुलसी डुम्राकोटी, काभ्रेका २० वर्षीय शिवहरि कुँवर, सोलुखुम्बुका २१ वर्षीय दीपक कामी, काभ्रेका १८ वर्षीय सगुन ताम्राकार, काठमाडौंका ३२ वर्षीय प्रद्युम्न खड्का, भारतका २८ वर्षीय मोहम्मद जहाँगिर खाँ, काभ्रेका ४२ वर्षीय अनिलकुमार लामा र नुवाकोटका ३६ वर्षीय चन्द्रबहादुर बयलकोटीको आन्दोलनमा मृत्यु भएको थियो ।
२४ चैत २०६२ मा हेटौंडा बजारमा राजनीतिक दलले विरोध प्रदर्शन सुरु गरेका थिए । त्यसअघि पनि बलजफ्ती बिरोधका कार्यक्रम भएको हो । तर, चैत २४ देखि नेपालका सबै निकाय ठप्प पारेर आन्दोलन संचालन गरिएको थियो । हेटौंडाको लोकतान्त्रिक चोकबाट निस्केको जुलुसलाई प्रहरीले हस्तक्षेप गरी आन्दोलनको अग्रपंक्तिमा रहेका ६४ जना नेता र कार्यकर्तालाई पक्राउ गरेको थियो ।
विरोध प्रदर्शनमा विद्यार्थी, शिक्षक, प्राध्यापक, इन्जिनियर, डाक्टर, मानवअधिकारकर्मी, पत्रकार र वकिल, किसान, ब्यापारीलगायत सामेल थिए । स्थानीय प्रशासनले २५ चैतमा हेटौंडाको विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । चैत २५ गते निषेधाज्ञा तोड्दै हेटौंडा बजारमा विरोध प्रदर्शन गरियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरी २८ जनालाई पक्राउ गरेको थियो । प्रहरीको लाठी चार्जबाट १२ जना आन्दोलनकारी घाइते भएका थिए ।
चैत ३१ गते गाउँ–गाउँबाट आन्दोलनमा सहभागी हुन हेटौंडामा हजारौँ मानिसहरु आएका थिए । यसै समयमा प्रशासनले लगातार १८ घण्टा कर्फ्यु आदेश जारी गरेको थियो । आन्दोलनलाई दबाउन प्रशासनले २०६३ वैशाख १ र २ गते कर्फ्यु लगाएको थियो । १९ दिने आन्दोलनका क्रममा मकवानपुरमा ३४९ जना पक्राउ परेका थिए भने २३ जना आन्दोलनकारी घाइते भएका थिए ।