सत्ता लुछाचुँडीमा लिप्त दल

साझाकुरा
२०८१ बैशाख १२, बुधबार १८:०३

जनजीविकाको सवालमा चिन्तन गर्नु पर्ने दलहरु मन्त्रालय हत्याउने दाउपेचमै रुमल्लिएका छन् । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँडको विषय थप पेचिलो बनिरहेको छ । सत्ता गठबन्धनभित्र मन्त्रालय हेरफेरको विषयमा हानथाप जारी छ । बागमतीमा १२ वटा मन्त्रालय १३ जना मन्त्री छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा एकीकृत समाजवादीबाट रमा आलेमगरलाई विनाविभागीय मन्त्री नियुक्त गरेपछि गठबन्धन दलमा मन्त्रालय बाँडफाँडको विषयमा हानथाप भइरहेको हो । नेकपा एमालेले ठूलो दलको हैसियतमा पाँच वटा मन्त्रालय लिनुपर्ने तर्क प्रस्तुत गरेको छ भने एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा एउटा महत्वपूर्ण मन्त्रालय खोजिरहेको छ ।

मन्त्रालय हेरफेरमा मुख्यमन्त्री जम्कट्टेलको भूमिकालाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीभित्र चर्काचर्की रुपमा बहस हुने गरेको छ । माओवादीले लिइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालय एकीकृत समाजवादीलाई दिने प्रतिबद्धता जनाएर २० चैतमा जम्कट्टेलले आलेमगरलाई विनाविभागीय मन्त्री नियुक्त गरे । जम्कट्टेलले मगरसँग एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाललाई साक्षी राखेर भौतिक मन्त्रालय दिने वचन दिएका थिए । तर, हालसम्म पनि उनले वाचा पूरा नगरेको भन्दै मगर असन्तुष्ट बनेकी छन् । २० दिनसम्म मन्त्रालयको जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि छरपष्ट हुँदैछ । एकीकृत समाजवादीले गठबन्धनमा शक्ति सन्तुलनका लागि भौतिक पूर्वाधार मन्त्रालय मागेको छ ।

एमालेले आर्थिक मामिला मन्त्रालय लियो । अब तेस्रो ठूलो मन्त्रालय एकीकृत समाजवादीले पाउनुपर्ने माग छ । मुख्यमन्त्री जम्कट्टेल र मगरबीच आइतबार मन्त्रालयको जिम्मेवारीको विषयलाई लिएर छलफल भएको छ । भेटमा जम्कट्टेलले खानेपानी मन्त्रालय लिन आग्रह गरेको मगरले बताइन् । तर, आफूले सहमतिअनुसार भौतिक मन्त्रालयमै अडान लिएको मगरको भनाई छ ।

जम्कट्टेलले सहमतिअनुसार भौतिक नदिएर एमालेले लिइरहेको खानेपानी मन्त्रालय दिन खोजेपछि एमाले पनि असन्तुष्ट बनेको छ । एमालेले एकीकृत समाजवादीलाई मन्त्रालय दिने विषय मुख्यमन्त्रीको निजी मामिलाको रुपमा टिप्पणी गरिरहेको छ । प्रदेशको मन्त्रालय भागबण्डा र न्यूनतम साझा कार्यक्रम निर्माणका सम्बन्धमा गठित कार्यदलले पनि मन्त्रालय हेरफेरको विषय टुंगो लाग्न सकेको छैन ।

कार्यदलको केही समयअघि काठमाडौंमा बसेको बैठकमा एमालेले मुख्यमन्त्रीले मन्त्रालय संख्या भन्दा माथि गएर मन्त्री नियुक्त गरेको विषयमा प्रश्न उठाएको थियो । मगरले सपथ लिएकै दिन अर्थात् २० चैतमा एमालेले दिउँसो थप चार मन्त्रीको सपथ गराएको थियो । एमालेले बाँकी चारवटै मन्त्रालयमा मन्त्री पठाएपछि एकीकृत समाजवादीकी आलेमगर हालसम्म विनाविभागीयमै सीमित छिन् । मन्त्रालय बाँडफाँडमा एमाले र एकीकृत समाजवादीबीच राजनीतिक तिक्तता देखिएको छ । जुन तिक्ततामा मुख्यमन्त्री जम्कट्टेलको भूमिकाले मलजल गरिरहेको नेताहरुको गुनासो छ ।

जम्कट्टेल माओवादीले लिएको मन्त्रालय त्याग्न तयार देखिएका छैनन् । मन्त्रालयको भागबण्डामा हानथाप गरिरहँदा चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम अधुरै रहने निश्चित देखिएको छ । वर्षैभरि सत्ता होडबाजीमै अल्झिने हो भने भोलिका दिनमा पुनः मतदातासमक्ष कसरी प्रस्तुत हुने ? मतदातामाझ जानै नपर्ने भए जे गरेपनि होला तर, पुनः अर्को निर्वाचनमा कुन अनुहार लिएर जनतामा जाने ? समय छँदै बिबेक पु¥याउन सकिएन भने भोलिका दिनमा समस्या आने निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*