हेटौंडामा नेपालको गर्जनः हामीलाई जनताको मात्रै चिन्ता छ

साझाकुरा
२०८१ बैशाख १६, आईतवार १३:०५

हेटौंडा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार वा प्रधानमन्त्रीसँग भन्दा पनि जनताको विषयमा मात्रै चासो र चिन्ता रहेको बताएका छन् ।उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने र जनताको पक्षमा मात्रै चासो र चिन्ता रहेको बताएका हुन् । हेटौंडामा शनिवार भएको एकीकृत समाजवादी जिल्ला पार्टी कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टी जनताको मुद्दा लिएर हिँडिरहेको दाबी गरे । नागरिकको विविध समस्या समाधान, आवश्यकतासँगै मुलुकको समृद्धिमा एकीकृत समाजवादीले प्रत्यक्ष भूमिका खेलिरहेको नेपालको भनाई थियो ।

राजनीति जनताको सेवा गर्ने सिद्धान्त रहेको र राजनीतिलाई लुट र ठगी धन्दा बनाउनु अपराध भएको उनको भनाई छ । एकीकृत समाजवादीले भ्रष्टाचाररहित रहेर इमानदारिता र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको उनले बताए । ‘राजनीति ठगी र लुटतन्त्रको नाम राजनीति होइन । राजनीतिमा लुट्ने र लुटेराको कुनै ठाउँ छैन । जनतालाई दुःख दिने, लुट्ने र ठग्ने तथा गलत काम गर्नेलाई दण्डित गर्नुपर्छ । एकीकृत समाजवादीमा त्यस्तालाई ठाउँ छैन,’ अध्यक्ष नेपालले भने ।

जनताको पक्षमा काम गर्ने बलियो र दीर्घकालीन सरकार निर्माण गरेर आर्थिक सामाजिक र विकासका काम गर्न सरकारका नेतृत्व गरिरहेकालाई खबरदारी गरिरहेको उनले बताए । एकीकृत समाजवादी देश बनाउने विषयमा केन्द्रित रहेको उनको भनाई छ । उनले जनताको विषयमा चिन्ता धेरै रहेको बताईरहँदा एमाले र केपी शर्मा ओलीविरुद्ध खनिए । २०७४ मा एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुईतिहाइको बहुमतको अवस्थामा पुगेर पनि राज्यको सबै संरचनामा आमूल परिवर्तन गर्न, मुलुकमा ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन नसकेको बताए ।

विकासको नयाँ लहर ल्याउन सकिन्थ्यो भन्दै उनले भने, ‘जब नेतृत्वमा अहंकार हावी भयो, नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्छ, अहंकारी बन्न पुग्छ विनम्र होइन । अहंकारी जब हुन पुग्छ त्यसपछि सबै सीमा नाध्छ, पार्टीको विधान मान्दैन, बैठक अस्वीकार गर्छ । छलफलाई वास्ता गर्दैन । त्यसैले यो अवस्था आएको हो ।’, एमाले अध्यक्ष ओलीको अहंकारले सीमा नाघेपछि तत्कालीन नेकपा जोगाउन नसकेको नेता नेपालले दाबी गरे ।

पूर्वप्रधानमन्त्री नेपालले दक्षिणपन्थी प्रतिगामी शक्तिहरु सलबलाउन थालेको टिप्पणी गरेका छन् । प्रतिगामी शक्तिहरु संविधान विरुद्व लागिपरेको उनले बताए । प्रतिगामीदेखि सतर्क भएर सबै लोकतन्त्रवादी, संविधानका पक्षधरहरु एकताबद्ध हुनुपर्ने नेपालले बताए । दक्षिणपन्थीहरु सक्रिय भइरहेकोले सजकता अपनाउनु पर्ने बताए । संविधान, लोकतन्त्र र संघीयतामाथि अझै खतरा रहेको नेता नेपालले दाबी गरेका छन् । देशको स्वाभिमान, स्वतन्त्रताको रक्षाका लागि चुनौती देखिएको नेता नेपालले चिन्ता
व्यक्त गरे ।

‘अहिलेको लोकतन्त्र, संविधान माथि नै चुनौती थपिएको छ । हामीले जनताको रगत पसिनासँग साटेर ल्याएको गणतन्त्र र संघीयता नै रहने हो की होइन भन्ने चुनौती आइरहेका छन्,’ उनले भने, ‘व्यवस्था र संविधानविरुद्ध प्रतिगामी शक्तिहरु सक्रिय भएर लागिरहेका छन् । राष्ट्रियता माथि चुनौती आउने सम्भावना छ ।’, उनले वर्तमान व्यवस्था र संविधान जोगाउन सबै शक्ति एकताबद्ध हुन जरुरी रहेको औंल्याएका छन् ।

अध्यक्ष नेपालका अनुसार राजनीतिमा निजी स्वार्थ सोचेर अघि बढ्न नहुने जिकिर गरे । त्याग र परिश्रम विना जनताले खोजे अनुसारको पार्टी निर्माण सम्भव नहुने उनको भनाई छ । एकीकृत समाजवादीले यथास्थितिवादी भएर जनतामैत्री बन्ने र अनुशासित, संस्कार सहितको कार्यकर्ता निर्माण गर्नुपर्ने अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीले चुनौतीको सामना गर्न सकिन्छ भन्ने विषय स्थापित गरेको उनले दाबी गरे ।

कार्यक्रममा पार्टी उपमहासचिव तथा बागमती प्रदेश इञ्चार्ज डा. गंगालाल तुलाधरले युवा र महिलाको उपस्थिति रहर लाग्दो रहेकोमा खुसी व्यक्त गरे । समाजवादी संघीय संसदमा १० सिट भए पनि बलियो पार्टी भएको उनले बताए । पार्टी बागमती प्रदेश सहइञ्चार्ज ललितकुमार बस्नेतले एमालेबाट टुक्रेको खरानी भन्नेहरु अहिले समाजवादीको जमात देखेर अत्तालिन थालेको बताए । यसैगरी प्रदेश कमिटी अध्यक्ष साबित्रा भुषालले सत्तासहकार्यमा रहँदा भएको सहमति कार्यान्वयन नभएकोमा आक्रोश व्यक्त गरिन् ।

पार्टी स्थायी कमिटी सदस्य बिरोध खतिवडाले समाजवादी पार्टीले खरायोको गतिमा हैन कछुवाको गतिमा दौड जारी राखेको बताए । समाजवादी सबैभन्दा त्यागी पार्टी भएको उनले बताए । गठबन्धनमा भएको सहमति कार्यान्वयन नभएमा समाजवादीले पनि आÇनो क्षमता देखाउने उनले बताए । पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले पार्टी जनताको आधारभूत तहसम्म पुग्नुपर्ने भएकोले यसतर्फ ध्यानाकर्षित हुन आग्रह गरे ।

कार्यक्रममा २०४६ को जनआन्दोलनको घाइतेहरु हेटौंडा–९ की सीता बिडारी, हेटौंडा–१७ का रामबहादुर भुजेल, हेटौंडा–१७ राजदेबीका बिष्णुप्रसाद ढुंगाना, हेटौंडा–१७ का कृष्णप्रसाद नेपाल, कम्युनिष्ट नेताहरु भीम महर्जन तथा हरिप्रसाद सिग्देल र साझाकुरा दैनिकसहित मकवानपुरका विभिन्न सञ्चारगृहलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादीका नेताले शुभकामना दिएका थिए । भेलाले पार्टी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*