तरुण दलको भवन निर्माणमा भेटवालको सहयोग

साझाकुरा
२०८१ बैशाख १८, मंगलवार १३:४१

हेटौंडा- नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको भवन निर्माणका लागि कांग्रेस मकवानपुरका युवा नेता तथा तरुण केन्द्रीय सदस्य राजेश भेटवालले नगद सहयोग गरेका छन् ।तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि भेटवालले २ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका हुन् । भेटवालले गरेको सहयोग प्राप्त भएको तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । आफ्नै सदस्यबाट रकम संकलन गरी भवन निर्माण गर्ने अभियान चलिरहेको अध्यक्ष गुरुङको भनाई छ ।

करिव ३ करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि हालसम्म तरुण दल केन्द्रीय सदस्यबाट ६८ लाख ७२ हजार रुपैयाँ संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिए । तरुण दलको गत चैत १५ र १६ गते केन्द्रीय समितिको बैठकले भवन निर्माण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सोहीअनुसार काठमाडौंको रविभवनमा करिव २ रोपनीमा क्षेत्रफलको जग्गामा नेपाल तरुण दलले भवन निर्माण गर्नेछ ।

भवन निर्माणको जिम्मेवारीमा सहभागी हुन पाउँदा भेटवालले खुशी व्यक्त गरे । सामाजिक उत्तरदायित्व ग्रहणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका भेटवालले मकवानपुरको समग्र विकास निर्माण तथा उद्यमशीलतामा सक्रिय छन् । विपद्का समयमा अग्रभागमा रहेर काम गर्ने भेटवाल कोभिड–१९ को महामारीमा मकवानपुरका नागरिकको सहयात्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*