हेटौंडा उपमहानगरको आफ्नै पाठ्यक्रम निर्माण, प्रअ व्यवस्थापन गरिने

साझाकुरा
२०८१ बैशाख १९, बुधबार ०९:४०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौंडा’ स्वीकृत गरी शैक्षिकसत्र २०८१ बाट उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । उपमहानगरको ४३ औं कार्यपालिका बैठक यो निर्णय गरेको हो । यसको प्रभावकारी अनुगमन गर्ने जनाइएको छ । यसअघि मकवानपुरमा सबैभन्दा पहिला राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको थियो । थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेका छन् । राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक पनि तयार गरेको बताइएको छ ।

राक्सिराङ गाउँपालिकाले कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक दुइवर्ष छफाई गरी बितरण गरेर लागू गरेको थियो । कक्षा ५ देखि ८ सम्मको पाठ्यपुस्तक भने गतवर्षदेखि छपाएर बालबालिकालाई बितरण गरेको थियो । हेटौंडा उपमहानगरले स्थानीय पाठ्यक्रम संस्थागत र सामुदायिक विद्यालयमा लागू गर्ने निर्णय गरेको छ । पाठ्यपुस्तक तयारी भने गरेको छैन । उपमहानगरको ४३ औं कार्यपालिका बैठकले अघिल्लो बैठकमा भएका निर्णयको कार्यान्वयनका सम्बन्धमा समीक्षा गरेको बताइएको छ । हेटौंडा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने क्रममा हालसम्म भएको प्रगतिको जानकारी गराउँदै वडा नं. ३ र १२ को बालबालिकाको लागि पञ्चवर्षीय आवधिक योजना २०८०÷८१ देखि २०८४÷८५ स्वीकृत गर्ने निर्णय गरेको नगरप्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

हेटौंडा उपमहानगर क्षेत्रभित्र वडा नं. ८ को कि.नं. २५७ को क्षेत्रफल १२–९–१० विगाह जग्गामध्ये ५ बिगाह जग्गा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे. क्वा. मकवानपुरको लागि माग भएको, इलाका प्रहरी कार्यालय नेवारपानीको भवन निर्माणको लागि हेटौंडा उपमहानगरपालिका वडा नं. १९ को प्रहरी कार्यालय नेवारपानीको हाताभित्र रहेको अन्दाजी ०–८–० जग्गा उपलब्ध गराउने निर्णय भएको छ । त्यसैगरी हेटौंडा उपमहानगरअन्तर्गतका वडा नं. ५ र १६ को वडा कार्यालय भवन नभएको हुँदा सेवाप्रवाहलगायत विषय छिटोछरितो सम्पादन गर्न, वर्षेनी वडा कार्यालयको भाडामा भएको खर्च कटौती गर्नु पर्ने भएको हुँदा वडा नं. ५ को १३६८ को २–१–१५ जग्गा र वडा नं. १६ को कि.नं. ६५५८ को ज.वि. १–१६–०१÷२ जग्गामा वडा कार्यालय भवन निर्माणको लागि जग्गाको प्राप्ति तथा भोगाधिकारको लागि प्रचलित कानून बमोजिमको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि हेटौंडा उपमहानगरको विभिन्न वडामा डिपिआर भएका योजना सहरी विकास तथा भवन निर्माण कार्यालयबाट सञ्चालन हुने गरी बागमती प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । उपमहानगरलाई आवश्यक रहेका हेटौडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौंडा उपमहानगरपालिका तयारी कक्षा एवम् भाषा शिक्षणसम्बन्धी निर्देशिका २०८१, हेटौडा उपमहानगरपालिका सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८१, हेटौडा उपमहानगरपालिका वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ कानून स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि हेटौंडा उपमहानगरको आन्तरिक आय संकलन गर्नको लागि विभिन्न शीर्षकमा आय ठेक्का लगाउन राजस्व परामर्श समितिबाट भएको न्यूनतम अंकमा केही प्रतिशतले वृद्धि गरी आय ठेक्काको न्यूनतम अंक कायम गर्ने, हेटौंडा–६ कान्तिराजपथमा निर्माण भएका घरटहरा र पर्खाल सडक क्षेत्राधिकारभित्र परेको हुँदा सडक क्षेत्राधिकार कायम गरी पाउन स्थानीयवासीले दिएको निवेदन बमोजिम त्यस्ता सडक क्षेत्राधिकार भित्र परेका संरचना स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनबमोजिम हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*