११ जना स्रष्ट्रालाई पुरस्कृत गर्दै भीम विराग प्रतिष्ठान

साझाकुरा
२०८१ बैशाख १९, बुधबार ०९:५३

हेटौंडा- भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले ११ जना स्रष्ट्रालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बैशाख २२ गते शनिबार हेटौंडामा सांगीतिक तथा साहित्यिक कार्यक्रम गर्दै एउटै मन्चबाट ११ जनालाई पुरस्कृत गर्ने भएको हो ।मंगलबार प्रतिष्ठानले पत्रकार भेटघाट गरी पुरस्कारको जानकारी गराएको हो । भीम विराग सक्रिय रहेका साहित्य, संगीत, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरको सहयोगमा ४ वटा पुरस्कारको स्थापना भएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपमहानगरको आर्थिक सहयोगमा स्थापना गरिएको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी) लाई, भीम विराग राष्ट्रिय संगीत पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर) लाई, भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बीएस राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिने छ । ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानले विगत वर्षदेखि नै भाषा, कला, संगीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई निरन्तर समर्पण गर्दै आइरहेका अन्य ७ पुरस्कार पनि शनिबार नै प्रदान गरिने छ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल, मकवानपुरलाई प्रदान गर्ने भएको छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेको पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यसैगरी भीम–मथुरा बालप्रतिभा पुरस्कार, २०८० ईशान्तकुमार मिश्र, मकवानपुरलाई प्रदान गरिने भएको छ । पुरस्कार संस्थापन विन्दुगोपाल गोर्खाली रहेको पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ ।

यस्तै शिला नारी पुरस्कार, २०८० निरु मगर, मकवानपुरलाई प्रदान गरिने छ । पुरस्कारको राशी १५ हजार रहेको पुरस्कारका संस्थापक आशीष श्रेष्ठ रहेको छन् । रामकृष्ण बानियाँ स्मृति लोकसंगीत पुरस्कार, २०८० (साविक विजय बानियाँ स्मृति लोकसंगीत पुरस्कार) पम्फा थापामगर, मकवानपुरलाई प्रदान गरिने जानकारी दिइएको छ । संस्थापक चुन बानियाँ रहेको पुरस्कार राशी २० हजार रहेको छ । यसैगरी चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० आरआर चौलागाईं मकवानपुरलाई प्रदान गरिने भएको छ । पुरस्कार संस्थापक रामबहादुर पाख्रिन रहेका छन् । पुरस्कारको राशी १५ हजार रहेको छ ।

यसैगरी १० हजार राशीको मंगलादेवी स्मृति स्वास्थ्यसेवा पुरस्कार, २०८० सीमा मिश्र, मकवानपुरलाई प्रदान गरिने भएको छ । पुरस्कारको संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल, बारालाई प्रादन गरिने भएको छ । यो पुरस्कारका संस्थापक रोशन सेन गुप्ता रहेका छन् ।

वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली संगीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेको महासचिव छवि अनित्यले बताए । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सर्जक, स्रष्टालाई सम्मानित एवम् पुरस्कृत गरिने उनले बताए । संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*