गर्मी बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप

साझाकुरा
२०८१ बैशाख २०, बिहीबार ०९:०३

हेटौंडा- हेटौंडा अस्पताल र मकवानपुरका स्वास्थ्य संस्थाहरुमा गर्मी बढेसँगै बिरामीको चाप छ । हेटौंडा अस्पतालको आकस्मिक कक्ष र ओपीडीमा समेत बिरामीको चाप बढेको हो ।गर्मी अत्यधिक बढेसंगै मकवानपुरको दश वटै स्थानीय तहका हेल्थपोष्ट लगायतका निजी मेडिकलहरुमा समेत बिरामीको निकै चाप बढेको छ । गर्मीको समयमा झाडा पखाला, ज्वरो लगायतका बिरामीहरु धेरै आउने गरेका छन् । जलवायु परिवर्तनका कारण तातो हावा चल्ने, वायु प्रदूषण हुने, उच्च तापक्रम हुने जस्ता समस्या समेत देखिएका छन् ।

गर्मी र वायु प्रदूषणका कारण मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पु¥याएको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्मीका कारण झाडापखाला हुने, पेट दुख्ने, छाला चिलाउने, आँखा पाक्नेजस्ता समस्या देखिएको छ । गर्मीका कारणले देखिने झाडापखाला, ज्वरो, पेट दुख्नेजस्ता समस्याबाट जोगिन तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोल पदार्थहरू पर्याप्त मात्रामा सेवन गर्न र गराउन बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बासी, जंग फुड, बाहिरको खाना नखान स्वास्थ्यकर्मीहरुको आग्रह छ । गर्मीमा पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धाहरुलाई उच्च जोखिम हुने भएकाले यी समूहका व्यक्तिलाई विशेष ध्यान दिन हेटौंडा अस्पतालका डाक्टरहरुको सुझाब छ ।यस्तै, वायु प्रदूषणबाट जोगिनका लागि बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक रुपमा घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदूषित क्षेत्रहरुबाट टाढा रहन मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*