स्वास्थ्य मन्त्रालयमा सचिवमाथि संघले पठायो अर्का सचिव

साझाकुरा
२०८१ बैशाख २०, बिहीबार ०९:०६

हेटौंडा- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सचिवलाई लिएर विगत पाँच महिनादेखि किचलो भइरहेको छ । गत मंसिर २०८० बाटै स्वास्थ्य मन्त्रालयमा सचिव हेरफरको विषय चलिरहेको छ ।सर्वोच्च अदालतबाट थमौती लिएर बसेका स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कामाथि संघीय सरकारले अर्का सचिव डा. प्रविन श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । अदालतबाट थमौती भएपछि खड्का सचिवको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । गत बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौंस्थित विर अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जनको रुपमा कार्यरत् श्रेष्ठ यसअघि दुई पटक हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) थिए । उनले हेटौंडा अस्पताल सुधारमा उल्लेख्य भूमिका खेलेका थिए । निवर्तमान मन्त्री उत्तम जोशी र सचिव खड्काबीचको मनमुटावले उत्पन्न सरुवाको लफडा सर्वोच्च अदालतसम्म पुगेको थियो । मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य उपकरण खरिदमा चलखेल देखिएको भन्दै सचिव खड्काले कर्मचारीलाई स्पष्टीकरण सोधेपछि मन्त्री जोशीसँग मनमुटाव बढेको थियो ।

१२ मंसिर ०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाउने निर्णय गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो । उनलाई विभागीयमन्त्रीसँग समन्वयमा काम नगरेकोलगायतका कारण देखाएर सरुवा गरिएको थियो ।सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्का १९ मंसिरमा सर्वोच्च अदालत गएका थिए । सरकारले १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । २० मंसिरमा मन्त्रिपरिषद् बैठकले तिवारीसहित अन्य चार जना स्वास्थ्यकर्मीलाई ११ औँ तहमा बढुवा गरेको थियो ।

बढुवा हुनेमा तिवारी सहित डा बसन्त अधिकारी, डा.अर्जुनप्रसाद सापकोटा, डा. नरेन्द्रकुमार झा थिए । बढुवासँगै तिवारीलाई मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य मन्त्रालय सचिवको जिम्मेवारी दिइएको थियो । २८ मंसिरमा सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाउ आदेश
जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेशपछि खड्काको ठाउँमा आएका सचिव तिवारी स्वास्थ्य निर्देशनालय हेटौंडाको निर्देशक भएर गएका थिए ।

सचिव खड्कासँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले सचिव खड्काले यसअघि नै अदालतको ‘स्टे अर्डर’ लिएर बसेको बताए । ‘पहिल्यै उहाँले स्टे अर्डर लिनु भएको थियो । अन्तरिम आदेशपछि अदालतबाट पूर्ण आदेश भएको जानकारी छैन्,’ गेलाले भने । संघीय सरकारले पठाएका सचिव श्रेष्ठ सम्बन्धी कुनै कागजात वा जानकारी मन्त्रालयमा नआएको उनको भनाई छ । श्रेष्ठले पनि मन्त्रालयमा हालसम्म सम्पर्क नराखेको गेलाल बताउँछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन सचिव निश्चलराज पाण्डेले स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव हुने भएपछि अन्यौलता देखिएको बताए । ‘एक जना अदालतबाट थमौती लिएर बस्नु भएको छ । अर्को सचिव संघीय सरकारले पठाएको छ । अब के गर्ने भनेर अन्यौलता भएको छ । तर अदालतको स्टे अर्डर भएकाले खड्काज्यू नै सचिवमा कायम हुनुहुन्छ,’ पाण्डे भन्छन् । बागमती प्रदेशमा १५ जना सचिव रहेकोमा हालै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहालको सरुवा भएको पाण्डेले जानकारी दिए ।

मुख्यमन्त्री कार्यालयमा पाण्डेसहित हुमकला पाण्डे र कृष्णकुमार कार्की सचिव छन् । स्वास्थ्यमा श्रेष्ठसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा थप एक जना सचिवको सरुवा भएको पाण्डेले जानकारी दिए । कानुन मन्त्रालयमा पूर्णबहादुर दर्जी सचिव छन् । उनी प्रदेशसभा सचिवालयका सचिवालय सचिवसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*