भीम विराग प्रतिष्ठानद्वारा ९ जना स्रष्टा सम्मानित

साझाकुरा
२०८१ बैशाख २३, आईतवार १०:४९

हेटौंडा- भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरबाट एकैपटक ९ जना स्रष्ट्रा सम्मानित भएका छन् ।प्रतिष्ठानले कला साधक भीम भीम विराग सक्रिय रहेका क्षेत्रहरु साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा ४ वटा पुरस्कार तथा सम्मान प्रदान गरेको हो । जनही २५ हजार रुपैयाँ राशीको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८० कुन्ता शर्मा (सुनसरी), भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार–२०८० लाल श्रेष्ठ (मकवानपुर), भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८० बीएस राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले विगत वर्षहरुदेखि नै भाषा, कला, सङ्गीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई निरन्तर समर्पण गर्दै आइरहेको महासचिव छवि अनित्यले जानकारी दिए । अन्य पुरस्कार ५ पुरस्कार समेत शनिबार नै प्रदान गरिएको छ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार–२०८० मञ्जु खराल, (मकवानपुर) लाई प्रदान गरेको छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार रुपैया रहेको छ ।

यस्तै शिला नारी पुरस्कार–२०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रहेको उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ हुन् । रामकृष्ण बानियाँ स्मृति लोक सङ्गी पुरस्कार–२०८० गितकार पम्फा थापा मगर(मकवानपुर) लाई प्रदान गरिएको छ । संस्थापक चुन बानियाँ रहेको उक्त पुरस्कार राशी २० हजार रहेको छ ।

यसैगरी, १० हजार राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशीको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रादन गरिएको छ । दृष्टिविहीन धिताले अध्यापन क्षेत्रमा सक्रिय छिन् । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता हुन् ।

वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था हो । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका सर्जक, स्रष्टाहरुलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको महासचिव अनित्य बताउँछन् ।

संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए । अन्य दुई पुरस्कारहरु भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०८० र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० भने प्राविधिक कारणबस प्रदान हुन नसकेको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिएका छन् ।

को हुन् भीम विराग ?
भीम विराग नेपाली सङ्गीत क्षेत्रमा सदावहार गीतबाट छाएका सर्जक थिए । उनको ७७ वर्षको उमेरमा फागुन २०६८ मा निधन भएको थियो ।गीतकार तथा सङ्गीतकार विराग जीवनका भोगाइ र अनुभूतिहरुलाई गीतमा उतार्न सक्ने सर्जक थिए । उनले कहिल्यै अरुका पीडालाई गीत बनाएनन् । विरागले जीवनमा मनग्ये दुःख र तिरस्कार भोगे । १२ वर्षको उमेरमा कुप्रोपनको सिकार बनेका उनले प्रेममा पटक–पटक तिरस्कृत हुनुप¥यो । २२÷२४ को उमेरमा दुई हात घुँडामा राखेर हिँड्नु पर्दा उनी बढीमा दया र सहानुभूतिका पात्र मात्र बने ।

त्यस कालको अनुभूतिहरूबाट सिर्जित उनका केही गीत नारायणगोपाललाई नेपाली गायनको उच्चतम बिन्दुमा पु¥याउने सिर्जनाका रुपमा परिचित थिए । तिमीले पनि म जस्तै…, कसरी म भुले…, आज–भोलि हरेक साँझ… जस्ता कयौं कालजयी गीतमा विरागको मिहेनत थियो । वीरगञ्जमा जन्मेहुर्केका विरागको जीवन हेटौंडामा बितेको थियो । आफ्नै प्रयासबाट साहित्य र सङ्गीत सिकेका उनले २०१८ सालमा रेडियो नेपालमा सम्झ्नाको बाली दियो… गाएका थिए ।

उनले खण्डकाव्य र महाकाव्य समेत प्रकाशित गरेका छन् । निमोनिया र मेनिन्जाइटिसबाट बिरामी थिए, विराग । १५ माघ १९९१ मा बीरगञ्जको माइस्थानमा जन्मिएका विरागका बाबुआमाले राखिदिएको नाम भीमबहादुर महर्जन हो । १२ वर्षको उमेरमा फुटबल खेल्न जाँदा लडेर घाइते भएपछि उनको ढाड जीवनभर सोझिन सकेन । २०२६ सालदेखि हेटौंडा बसेर साहित्य, सङ्गीत, कला र पत्रकारितामा क्रियाशील विरागका नाममा हेटौंडामा भीम विराग साहित्य सङ्गीत कला प्रतिष्ठान स्थापना भएर क्रियाशील रहेको हो ।

स्वरसम्राट नारायण गोपाल, मधु क्षत्री, रामकृष्ण ढकाल लगायतले गाएका थुप्रै कालजयी गीत भीम विरागका शब्द र सङ्गीतमा थिए । आजभोलि हरेक साँझ मात्तिन थालेछ, तिमीले पनि म जस्तै माया दिएर हेरलगायत गीतका स्रष्टा विराग हुन् । विरागको साहित्ययात्रा वि.सं.२०१५ मा ‘उदय’ पत्रिकामा प्रकाशित कविताबाट भएको हो । २०२३ सालमा नारायणी अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम भएपछि चर्चामा आएका विराग नारायणी साप्ताहिक र बिगुल साप्ताहिकको सम्पादक भएर पत्रकारिता पनि गर्थे ।

यसमा तपाइको मत

Your email address will not be published.


*