बकैयामा प्रदेशस्तरीय अस्पताल बनाउन माग

साझाकुरा
२०८१ बैशाख २४, सोमबार १२:४५

हेटौंडा- पूर्वी मकवानपुरको बकैयामा प्रदेशस्तरको अस्पताल बनाउन माग गरिएको छ । बकैया गाउँपालिका उपाध्यक्ष एवम् माओवादी केन्द्र बकैया अध्यक्ष भक्तबहादुर खत्रीले बकैया आधारभूत अस्पताललाई स्तरबृद्धि गरेर प्रदेशस्तरको अस्पताल बनाउन माग गरेका हुन् ।प्रदेशको राजधानी हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताल, निजी अस्पताल र क्लिनिक रहेपनि पूर्वीक्षेत्र स्वास्थ्यको पहुँचबाट टाढा भएको बताउँदै बकैयामा प्रदेशस्तरको अस्पताल माग गरिएको हो । हेटौंडामा हेटौंडा अस्पताल सहित निजी अस्पताल र क्लिनिक छ, पश्चिमी क्षेत्र मनहरीमा छिमेकी जिल्ला चितवनमा स्वास्थ्य सेवा लिन सकिने अवस्था छ तर, बकैया स्वास्थ्यको क्षेत्रमा पछाडि परेको उपाध्यक्ष खत्रीले बताए ।

बकैयामा रहेको बकैया आधारभूत अस्पताललाई स्तरबृद्धि गरेर प्रदेशस्तरीय अस्पताल बनाउन सके पूर्वीक्षेत्र बकैया, बागमती सहित छिमेकी जिल्ला ललितपुर, सिन्धुली र काभ्रेका केही भूभागलाई समेत पाएक पर्ने उपाध्यक्ष खत्रीको भनाइ छ ।हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ, धरान–चतरा–सिन्धुली–हेटौंडा मदन भण्डारी राजमार्ग, निर्माणाधीन तराइ–काठमाडौं जोड्ने द्रुतमार्ग, निर्माणाधीन हात्तिसुँडे सडक र मधेश प्रदेश जोड्ने सडकहरु बकैया–बागमती हुँदै जोडिने भएकाले पछिल्लो समय यहाँ सवारी दुर्घटना र अन्य विभिन्न घटना भएकाले उपचारका लागि पनि बकैयामा प्रदेशस्तरको अस्पतालको माग उठिरहेको हो ।

यो सडकमा अहिले दिनहुँ जस्तो सवारी दुर्घटना हुने र दुर्घटनामा परेर ज्यान गुमाउनुपर्ने अवस्थाले बकैयामै सुविधा सम्पन्न अस्पताल भए चाँडो उपचार हुनसक्ने र मृत्युदर घटाउन सकिने स्थानीयको भनाइ छ । पालिका उपाध्यक्ष खत्रीले बकैयाको आधारभूत अस्पताललाई स्तरबृद्धि गर्नका लागि सरोकारवाला निकायमा पनि ध्यानाकर्षण गराएका छन् । उनले बागमती प्रदेशका मुख्यमन्त्री, भौतिक विकास मन्त्री, स्वास्थ्य मन्त्री लगायतलाई ध्यानाकर्षण गराउदा उनीहरु अस्पताल निर्माण र जनताको सेवा दिने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए । पूर्वीक्षेत्रको बकैयामा प्रदेशस्तरको अस्पताल निर्माण भए हजारौं संख्यामा सेवाग्राहीले सहज सेवा पाउने थिए भने हेटौंडा र चितवन नै धाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*