हेटौंडामा प्रदेश युवा सम्मेलन : ‘युवा सीप वर्ष’ घोषणासँगै पाँच हजारलाई सीप सिकाउँदै परिषद्

साझाकुरा
२०८१ बैशाख २६, बुधबार १६:४७

हेटौंडा–हेटौंडामा सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा तीनदिने दोस्रो प्रदेश युवा सम्मेलन हुँदैछ । २८, २९ र ३० वैशाखमा हुने युवा सम्मेलनको सम्पूर्ण तयारी सकिएको परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बागमती प्रदेशका १३ जिल्लाका २०० बढी युवाको सहभागिता रहने प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता रहनेछ । सम्मेलनको नारा ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ छ ।

सम्मेलनमा सहभागीले अनलाइनमार्फत् मात्रै आवेदन दिने व्यवस्था मिलाइएको थियो । सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत् आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २०० जनालाई पूर्णसमावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएको उपाध्यक्ष चौलागाईंले बताए ।

सम्मेलनमा युवाको ज्ञानसीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । युवा सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना र मुख्यमन्त्रीसँग कुरालगायत विषय वस्तुमाथि छलफल हुने परिषद्ले जनाएको छ ।

युवा सम्मेलन पश्चात् २०८१ लाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईं बताउँछन् । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उनले जनाए । ३९० घण्टाको सीपमूलक निःशुल्क मण्टेश्वरी तालिम आयोजना सुरु भइसकेको उनको भनाई छ । परिषद्ले १० वटा क्षेत्रमा १०० पेशाका सीप सिकाइ, सीप परीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार पारेको छ ।

१० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको परिषद्ले जनाएको छ । अधिकांशले टे«न्डिङकै तालिम माग गरेका छन् । सिलाईबुनाइ, ब्युटीपार्लरलगायतका माग बढी आएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए । सीप परीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन रहेको उनको भनाई छ । सूचना प्रविधिको क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा परिषद् छ ।

विशेषतः ग्राफिक्स डिजाइन, फोटोसप, इम्ब्रोइडरीलगायतका नयाँ विधामा तालिम सञ्चालनको तयारी भइरहेको परिषद्ले जनाएको छ । होटल तथा पर्यटन, निर्माण, कृषि, सेवा, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा प्रदेशका १३ वटै जिल्लाका युवालाई सीप सिकाइने भएको हो । उनीहरुलाई तालिम दिएर सीप परीक्षण पनि गर्ने उपाध्यक्ष चौलागाईंले बताए ।

युवा सम्मेलनका लागि १५ लाख बजेट विनियोजन गरिएको परिषद्ले जनाएको छ । कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने योजनामा परिषद् रहेको उपाध्यक्ष चौलागाईले बताए । बाँकी बजेट रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

परिषदले प्रदेश युवा नीति–२०७९ तयार पारेर काम गरिरहेको जनाएको छ । परिषदले गतवर्ष आयोजना गरेको युवा सम्मेलनबाट चालू आर्थिक वर्ष २०८०/८१ का लागि आवश्यक बजेट बिनियोजन भएको थियो । पहिलो प्रदेश युवा सम्मेलनले तयार गरेको ११ बुँदे घोषणा पत्रमा ७ वटा विषयलाई प्रदेश सरकारले चालू आवबाट कार्यान्वयन गरेको उपाध्यक्ष चौलागाईले दाबी गरे ।

युवा सम्मेलनमा जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने परिषद्ले उल्लेख गरेको छ । सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । यी सत्रमा उठान भएका मुद्दामा छलफलका लागि युवा सम्मेलनको अन्तिम दिन अर्थात् २९ वैशाखमा मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*