इन्द्रसरोवरको वित्तीय प्रगति २३ प्रतिशत मात्रै

साझाकुरा
२०८१ बैशाख २६, बुधबार १६:४६

हेटौंडा–मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकाको ८ महिनाको वित्तीय प्रगति २३ दशमलव ११ प्रतिशत मात्रै रहेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी खर्चको विवरणअनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित ४९ करोड २८ लाख २ हजारमा चैत्र मसान्तसम्म ११ करोड ३९ लाख २५ हजार ८ सय ७२ रुपैयाँ अर्थात २३ दशमलव ११ प्रतिशत मात्र खर्च भएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ तथा नियमावली २०६५ अनुसार सार्वजनिक निकायले ३/३ महिनामा सार्वजनिक गर्नेे स्वतः प्रकाशनमार्फत् पालिकाले यस्तो जानकारी दिएको हो ।

पूर्वाधारतर्फ चालु आर्थिक वर्षका लागि विनियोजित १५ करोड ६० लाख ३० हजारमा ४ करोड ३४ लाख ४४ हजार ४ सय ११ अर्थात २७.८४ प्रतिशत खर्च भएको छ । यस विषयक्षेत्र अन्तर्गत पर्ने उपक्षेत्र यातायात पूर्वाधारमा ३२ दशमलव ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । भवन, आवास तथा सहरी विकासमा २३ दशमलव ५८, ऊर्जामा ९८ दशमलव ३८, सञ्चार तथा सूचनाप्रविधिमा ९ दशमलव ३१ र सम्पदा पूर्वाधारमा २९ दशमलव ३ वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाको क्षेत्रगत वित्तीय प्रगति अन्तर्गत आर्थिक विकासतर्फ ४ करोड ३० लाख बजेट विनियोजन भएकोमा ७९ लाख २ हजार ८ सय ४९ रुपैयाँ अर्थात १८ दशमलव ३८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आर्थिक विकास अन्तर्गत पर्ने कृषिमा १९ दशमलव ७६, उद्योगमा ३ दशमलव ६१, जलस्रोत तथा सिंचाइमा २८ दशमलव ८, पशुपंक्षी विकासमा १८ दशमलव ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । उपक्षेत्रअन्तर्गत पर्यटन, सहकारी, वित्तीय क्षेत्र र वन उपक्षेत्रमा विनियोजित बजेटको खर्च प्रगति शुन्य छ ।

१८ करोड २२ लाख बिनियोजना भएको सामाजिक विकासमा ३ करोड ९५ लाख ९३ हजार २ सय ५३ अर्थात २१ दशमलव ७२ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । शिक्षामा २२ दशमलव ७ प्रतिशत, स्वास्थ्यमा १७ दशमलव ४८, खानेपानी तथा सरसफाइमा २७ दशमलव ३४, भाषा संस्कृतिमा ४५ दशमलव ३६, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा १३ दशमलव १३, सामाजिक सुरक्षा तथा संरक्षणमा २४ दशमलव ४९ प्रतिशत खर्च भएको छ । युवा तथा खेलकुदमा क्षेत्रमा विनियोजित बजेटको खर्च शुन्य प्रतिशत छ ।

चैत्र मसान्तसम्म ८४ वटा योजना सम्झौता गरेकोमा ८२ वटा योजना सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । पालिकाले हालसम्म १४ वटा ऐन निर्माण गरिसकेको छ भने ३३ वटा कार्यविधि, ४ वटा नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याएको छ इन्द्रसरोवर गाउँपालिकाले ५ वटा निर्देशिका, एउटा नीति, २ वटा मापदण्ड र एउटा रणनीति समेत निर्माण गरी पालिकाले कार्यान्वयनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*