हेटौंडामा प्रदेश युवा सम्मेलन सुरु, २०० युवा जुटे

साझाकुरा
२०८१ बैशाख २९, शनिबार १६:५४

हेटौंडा- हेटौंडामा शुक्रबारबाट बागमती प्रदेशस्तरीय युवा सम्मेलन सुरु भएको छ । सम्मेलनमा प्रदेशभरका २०० बढी युवा जुटेका छन् ।सम्मेलनको बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका छन् । हेटौंडाको बुद्धचोकबाट बाजा र झाँकीसहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । सम्मेलन यही बैशाख ३० गतेसम्म चल्नेछ ।

मुख्यमन्त्री जम्कट्टेलले युवामा लगानी गर्नसके देशमा समृद्धि आउने बताए । नेपालको शिक्षा प्रणाली प्रयोगात्मक नभएकाले अव्यवहारिक भएको उनले बताए । सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षामा जोड दिनसके उद्यमशीलताको विकास हुने मुख्यमन्त्री जम्कट्टेलले विश्वास लिए । कृषि पेशालाई उद्यमशीलतामा लैजानसके युवालाई विदेश जानबाट रोक्न सकिने उनको भनाई छ ।

उद्यमशीलताको पहिलो आधार कृषिपेशा रहेकाले यसमा जोड दिन तीनै तहका सरकारले ध्यान दिनुपर्ने जम्कट्टेल बताउँछन् । देशमै कृषि, पर्यटन, उर्जा र आईटी क्षेत्रमा उद्यमशीलताको सम्भावना रहेको जम्कट्टेलले बताए ।सम्मेलनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्नेमा विश्वास व्यक्त
गरे । प्रदेश सरकारले युवाको वृहतहितका लागि सम्मेलन गरेको बताउँदै पौडेलले युवामा लगानी गर्नसके देशमा समृद्धि आउने बताए ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा तीनदिने दोस्रो प्रदेश युवा सम्मेलन सुरु भएको हो । सम्मेलनमा प्रदेशका १३ जिल्लाका २०० बढी युवाको सहभागिता रहेको प्रदेश युवापरिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता छ ।

सम्मेलनको नारा ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ रहेको छ ।सम्मेलनमा सहभागीले अनलाइनमार्फत् मात्रै आवेदन दिने व्यवस्था मिलाइएको थियो । सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत् आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २०० जनालाई पूर्णसमावेशी अवधारणामा छनोट गरिएको उपाध्यक्ष चौलागाईंले जनाए । २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएको उपाध्यक्ष चौलागाईंले बताए ।

युवा सम्मेलनमा जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको परिषद्ले उल्लेख गरेको छ । सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । यी सत्रमा उठान भएका मुद्दामाछलफलका लागि युवा सम्मेलनको अन्तिम दिन अर्थात् २९ वैशाखमा मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ ।

सम्मेलनमा युवाको ज्ञानसीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । युवा सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना र मुख्यमन्त्रीसँग कुरालगायत विषय वस्तुमाथि छलफल हुने परिषद्ले जनाएको छ ।

युवा सम्मेलन पश्चात् २०८१ लाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईं बताउँछन् । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उनले जनाए । ३९० घण्टाको सीपमूलक निःशुल्क मण्टेश्वरी तालिम आयोजना सुरु भइसकेको उनको भनाई छ । परिषद्ले १० वटा क्षेत्रमा १०० पेशाका सीप सिकाइ, सीपपरीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार पारेको छ ।

१० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको परिषद्ले जनाएको छ । अधिकांशले टे«न्डिङकै तालिम माग गरेका छन् । सिलाईबुनाइ, ब्युटीपार्लरलगायतका माग बढी आएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए । सीपपरीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन रहेको उनको भनाई छ । सूचनाप्रविधिको क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा परिषद् छ ।

युवा सम्मेलनका लागि १५ लाख बजेट विनियोजन गरिएको परिषद्ले जनाएको छ । कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीपपरीक्षणमा खर्च गर्ने योजनामा परिषद् रहेको उपाध्यक्ष चौलागाईले बताए । बाँकी बजेट रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

परिषद्ले प्रदेश युवानीति–२०७९ तयार पारेर काम गरिरहेको जनाएको छ । परिषद्ले गतवर्ष आयोजना गरेको युवा सम्मेलनबाट चालू आर्थिक वर्ष २०८०÷८१ का लागि आवश्यक बजेट बिनियोजन भएको थियो । पहिलो प्रदेश युवा सम्मेलनले तयार गरेको ११ बुँदे घोषणापत्रमा ७ वटा विषयलाई प्रदेश सरकारले चालू आवबाट कार्यान्वयन गरेको उपाध्यक्ष चौलागाईले दाबी गरे ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभाध्यक्षतामा भएको सम्मेलन उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोख्रेल, सामाजिक विकासमन्त्रीकुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिंचाइमन्त्री एकालाल श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साललगायतको आतिथ्यतारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*