प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रने जिल्लाका आठ दलको चेतावनी

साझाकुरा
२०८१ बैशाख ३०, आईतवार १४:२७

हेटौंडा- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा अस्पताल गाम्न लागिएको भन्दै मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका छन् ।आठ दलका प्रतिनिधिको हस्ताक्षरसहित शनिवार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले अस्पताल प्रतिष्ठानमा गाम्नका लागि अगाडि बढाएको प्रक्रिया रोक्न माग गरेको छ । मकवानपुरमा क्रियाशील ८ राजनीतिक दलले प्रदेश सरकारको बिरोध गरेका छन् । २०६२–६३ को जनआन्दोलन सफलतासँगै त्यसले निर्दिष्ट गरेको कार्यदिशा र संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक यात्रामा देश अघि बढिरहेको अवस्थामा प्रदेश सरकारको कार्यशैलीको बिरोध गरिएको हो ।

८ दलले शनिबार हेटौंडामा संयुक्त विज्ञप्ती जारी गर्दै संघीयताको अभ्यास गरिरहँदा यसलाई संस्थागत गर्ने हामी सबैको दायित्व भएकोले प्रदेश सरकारको संघीयता बिरोधी गतिबिधि अमान्य हुने बताइएको छ । सरकारमा रहेका र सरकार बाहिर रहेका दलले संयुक्त विज्ञप्ती जारी गरी प्रदेश सरकार निर्माणअन्तर्गत बागमती प्रदेश सरकार निर्माण हामी सबैको उपलब्धी र सपना पनि हो भनिएको छ ।

संयुक्त विज्ञप्तीमा ‘यो एक गम्भीर प्रकृतिको अभ्यासमा प्रदेश सरकार लागिरहेको सरकारमै रहेका र सरकार बाहिर रहेका दललाई पनि अस्वीकार्य रहेका जानकारी गराउँदै मकवानपुरका जनताको अमूल्य निधिलाई नामेट पार्ने काम प्रदेश सरकारबाट भइरहेकाले यसको हामी समर्थन गर्न सक्दैनौँ’ भनिएको छ । यतिमात्र होइन, यदि यो प्रक्रिया तत्काल नरोकिए मकवानपुरका राजनीतिक दल सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

प्रतिष्ठान स्थापना गरेर प्रदेश र मकवानपुरको विकासमा योगदान दिने कामको स्वागत गर्दै हेटौंडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेशसभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको छ ।
विज्ञप्तीमा ‘बागमती प्रदेश सरकार गठनपछि प्रदेश राजधानी, पूर्वाधार विकास, प्रदेश गौरव आयोजनाले बागमती प्रदेशले विकासमा मारिरहेको फड्कोको हामी सबै प्रशंसा गर्दछौं’ भनिएको छ ।

आजको मितिमा बागमती प्रदेश राज्यको प्रतिव्यक्ति आय भन्दा निकै माथि पुगेको छ । पूर्वाधार, लगानी र विकासले अरु प्रदेशको तुलनामा अब्बल छ । विज्ञप्तीमा बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडामै एमबिबिएससम्मको पढाइको तयारी गरेर भौतिक पूर्वाधार निर्माण गरिरहेको छ ।

प्रतिष्ठानले चाँडै लक्ष्यअनुसारको पढाइ सुरु गरोस्, प्रदेश सरकारले यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गरोस्, हामी सबै राजनीतिक दलहरु खुलादिलले यसलाई सार्थक बनाउन सहयोग गरिरहने प्रण गर्दछौं । तर, पछिल्लो समय विकसित घटनाक्रमप्रति दलको ध्यानाकर्षण भएको जनाइएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक हेटौंडा अस्पताल प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्नेगरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत् आरम्भ गरेको प्रक्रियाले राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजार भन्दा बढी नागरिकले उपचारसेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिले सबैको ध्यानाकर्षण भएको बताइएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, नेकपा एसका जिल्ला अध्यक्ष बिष्णु दाहाल, नेकपा माओवादी जिल्ला संयोजक भीम पाख्रिन, रास्वपा जिल्ला सभापति भरत पराजुली, जसपा जिल्ला अध्यक्ष सोम घलान, राप्रपानेपालका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपा जिल्ला उपाध्यक्ष अर्जुन गौतम, नेकपा जिल्ला ईन्चार्ज वाटरलहस्ताक्षर गरेका छन् ।

तरुण दलको चेतावनी

नेपाल तरुण दल मकवानपुरले हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन आग्रह गरेको छ । अस्पताललाई बागमती प्रदेश सरकार अन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी अगाडि बढाएसँगै नेपाल तरुण दलले विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दल जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) र तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले संयुक्तरुपमाम विज्ञप्ति जारी गर्दै स्थानीय तथा प्रदेश सरकारको गठन भएसँगै ‘रिफर सेन्टर’को रुपमा रहेको हेटौंडा अस्पतालको सेवामा केही परिवर्तन भइरहेको अवस्थामा प्रदेश सरकारले एक्कासी हेटौंडा अस्पतालको इतिहास मेटाउने गरी प्रतिष्ठानमा विलयगराउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमतिमा एकाएक हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय मार्फत आरम्भ गरेको प्रक्रिया तत्काल रोक्न हामी जोडदार माग गर्दछौं ।,’ विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*