हेटौंडा र मनहरीमा कांग्रेसको अगुवा कार्यकर्ता भेला

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:५६

हेटौंडा- नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा–१९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता भेला तथा छलफल भएको छ ।कांग्रेस मनहरी गाउँपालिकाको वडा १ को चकरी भोल्टाडी, ३ नम्बरको सिद्धकाली र हेटौंडा उपमहानगरपालिका–१९ को सान्नानीटारमा नेपाली कांग्रेस बागमती प्रदेशसभापति एवम् प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको उपस्थितिमा अगुवा कार्यकर्ता भेला तथा स्थानीय समस्याको बारेमा छलफल गरिएको हो ।

भेलामा नेता बानियाँले पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, स्थानीयस्तरमा रहेका विद्यमान समस्या, नगर तथा गाउँपालिकाले बनाउने बजेट, पार्टीको अहिलेको अवस्था बारेमा अगुवा कार्यकर्ता, जनप्रतिनिधि र वडा सभापतिसँग छलफल गरेका थिए । प्रदेशसभा सदस्य बानियाँले जनप्रतिनिधि, पालिका र वडा सभापतिहरुले स्थानीय जनताको आवश्यकता र औचित्यको आधारमा व्यापक छलफल गरेर शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई प्रमुखताका साथ ध्यान दिएर बजेट निर्माण गर्न निर्देशन दिए ।

नेता बानियाँले विकासका कार्यमा स्थानीय समस्या समाधानको लागि स्थानीय सरकारले गर्न नसकेका कार्यमा पालिका प्रमुखसँग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै अगुवा कार्यकर्ता र जनप्रतिनिधिले उठाएका समस्या, जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ ख का क्षेत्रीयसभापति रञ्जन कालाखेती, महासमिति सदस्यद्वय राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, मनहरी–१ का सभापति मनोहरी उप्रेती, ३ का सभापति रमेश पुरी, हेटौंडा–१९ का सभापति विष्णुलाल स्याङतान, स्थानीय नेताहरु सानुकाजी लुईटेल, शिवप्रसाद खनाल, अनन्त अर्याललगायतले धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*