विद्यार्थीलाई साइकल वितरण

साझाकुरा
२०८१ जेष्ठ १, मंगलवार ११:५८

हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई साइकल वितरण गरिएको छ । वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।तीन किलोमिटर टाढाबाट पैदलयात्रा गरी विद्यालय आउने विद्यार्थीलाई विद्यालयमा आवतजावत गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले साइकल वितरण गरिएको वडाध्यक्ष आशिष तितुङले जानकारी दिए । भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा वडा कार्यालयले विद्यार्थी छनोट गरेको हो ।

साइकल नजाने टाढाका विद्यार्थीलाई वडाले विद्यालय आसपास होस्टलको व्यवस्था गर्ने योजना रहेको अध्यक्ष तितुङले बताए ।वडाको एकमात्र माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सुकदेव अधिकारीले बताए । विद्यार्थीको नियमित उपस्थितिका लागि टाढाका विद्यार्थीलाई साइकल वितरण प्रभावकारी भएकोले यो कार्यक्रमको लागि वडा कार्यालयलाई प्रधानाध्यापक अधिकारीले धन्यवाद दिए ।

साइकल वितरण कार्यक्रममा प्रमुखअतिथि बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाले विपन्न र सुविधाबाट वञ्चित जनसमुदायलाई प्राथमिकता दिएको बताए । कोहीपनि बालबालिका विद्यालयबाट बाहिर हुन नपरोस् भनेर गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको भन्दै उनले विद्यार्थीलाई मिहेनत गरी अध्ययन गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*