बागमतीमा मन्त्रालय फुटाएर मगरलाई जिम्मेवारी, डेढ वर्षमा दुईपटक फुटाइयो

हेटौंडा- बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय विभाजन गरेका छन् । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ ।बागमतीमा अब १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । सामाजिक विकास मन्त्रालय नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले सम्हाल्दै आएकी थिइन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएकी नेकपा (एकीकृत समाजवादी) की रमा आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन मगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मतका लागि एक सांसदको समर्थन आवश्यक भएको अवस्थामा मन्त्री मगर प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो । जम्कट्टेलले डेढ वर्षको कार्यकालमा दुईपटक मन्त्रालय विभाजन गरे । यसअघि नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको सरकारमा कांग्रेसबाट रामकृष्ण चित्रकालाई जिम्मेवारी दिन मन्त्रालय विभाजन गरेका थिए ।
७ जेठ २०७९ मा मन्त्रिपरिषद विस्तार गर्दा चित्रकारलाई विनाविभागी मन्त्री बनाइएको थियो । ५ भदौमा उनलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यतिबेला पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा चित्रकारलाई दिइएको थियो । मुख्यमन्त्री जम्कट्टेलले १० माघ २०७९ मा मन्त्रालय संख्या घटाएर ११ वटा कायम गरेका थिए । त्यसअघिको १४ वटा मन्त्रालय रहेकोमा कम बजेट भएका र प्रभावकारी काम नदेखिएका ३ वटा मन्त्रालय कटौती गरिएको थियो ।
मुख्यमन्त्रीमा पदभार ग्रहण गर्दै मन्त्रालय संख्या घटाउन कार्यदल गठन गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रमुखसचिव मुकुन्दनिरौलाको संयोजकत्वमा रहेको कार्यदलले मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रालय संख्या निर्धारण गर्न दुईवटा विकल्प दिएको थियो । कार्यदलले कम्तीमा ९ वटा र बढीमा ११ वटासम्म मन्त्रालालय राख्न सकिने विकल्प दिएको थियो ।
कार्यदलले ९ र ११ वटा मन्त्रालय हुँदा खर्च र आम्दानीको हिसाबसमेत प्रतिवेदनमा उल्लेख गरेको थियो । कार्यदलका अनुसार एउटा मन्त्रालयको वार्षिक खर्च ७३ लाख रहेको छ । ११ वटा मन्त्रालय बनाउँदा मसलन्दबाहेक तलब भत्तालगायतका खर्च वार्षिक साढे ८ करोड हुने कार्यदलको निष्कर्ष थियो । ९ वटा मन्त्रालय बनाउँदा वार्षिक साढे ६ करोड खर्च हुने कार्यदलले जनाएको थियो ।
साढे ६ वर्षमा चारपटक मन्त्रालय टुटफुटबागमती प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चारपटक मन्त्रालय टुटफुट भएका छन् । चारैपटक मन्त्रालय फुटाउने र जुटाउने कार्यमा गठबन्धन टिकाउनु प्रमुख कारण बनेको छ ।२०७४ मा प्रदेश स्थापना भएपछि पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले ७ वटा मन्त्रालय बनाएका थिए । साढे ३ वर्ष सरकारमा बसेका उनले ७ वटै मन्त्रालयबाट सरकार चलाएका थिए । तत्कालीन नेकपा विभाजनपछि भने बागमतीमा मन्त्रालय टुटफुट चलिरहेको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनमा भागवण्डा मिलाउन ८ वटा मन्त्रालय फुटाएर १४ वटाको जम्बो मन्त्रिपरिषद् गठन गरेका थिए । ११ कातिक २०७८ मा नयाँ गठबन्धनको नेतृत्व गर्दै गरेका पाण्डेले १५ मंसिरको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएका थिए । उनले एउटै मन्त्रालयलाई तीन टुक्रासमेत बनाएका थिए ।तत्कालीन नेकपा विभाजन पछि भदौ २०७८ मा दुई महिना मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् ।
शाक्यले ७ वटा मन्त्रालयलाई स्वास्थ्य थप गरेर ८ पु¥याएकी थिइन् । एमालेको एकल सरकारमा उनले ४ जनालाई राज्यमन्त्री बनाएकी थिइन् । शाक्यले आफ्नो सरकार अल्पमतमा परेपछि १० कार्तिक २०७८ मा पदबाट राजीनामा दिएकी थिइन् ।