कलामहोत्वस आजबाट, ५० जना कलाकार आउने

साझाकुरा
२०८१ जेष्ठ ३, बिहीबार १२:४७

हेटौंडा- हेटौंडामा मानवसेवा आश्रम समर्पित हेटौंडा कला महोत्सव बिहीबारबाट सुरु हुने भएको छ । सटर्डे प्लेन एयरको आयोजनामा ५ गतेसम्म हेटौंडा कला महोत्सव हुन लागेको कला व्यवस्थापक एवम् संयोजक दिवेशमानसिंह प्रधानले बताए ।कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिदस्मारक पार्कमा, चित्रकला प्रदर्शनी कार्यपत्र, चित्रकला सृजना, खुल्ला चित्रकला कार्यशाला, कलासंवाद लगायत कार्यक्रम रहने बताइएको छ । महोत्सवको उद्घाटनसँगै वरिष्ठ कलाकार सम्मानबाट हरिभजनमानसिंह प्रधान ललितकला सम्मान २०८१ प्रदान गरिने संयोजक प्रधानले बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुति, कलासंवाद र प्रत्यक्ष चित्रकला सृजना रहने छ ।

‘४ गते विहान भुटनदेवी मन्दिर परिसरमा खुल्ला चित्रकला कार्यशाला र भजनगायन कार्यतालिका छ,’ संयोजक प्रधानले भने । सोहीदिन अपराह्न ४ बजे पुष्पलालपार्कमा चित्रकला कार्यशाला र साँस्कृतिक प्रस्तुति रहेको छ । त्यस्तै, अन्तिम दिन ५ गते कलाभ्रमणअन्तरगत मनकामना डाँडा, पाथीभरा मन्दिर, गुम्बाडाँडा हर्नामाडी, मकवानपुरगढी दरवार क्षेत्रमा विहान ६ बजे भ्रमण तथा अवलोकन गरिने र दिउँसो २ बजे हेटौंडा स्मारकमा खुल्ला चित्रकला कार्यशाला, कलासंवाद र महोत्सव समापन कार्यतालिका रहेको संयोजक प्रधानले बताए ।

हेटौंडा उपमहानगरका प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको मुल उद्देश्य रहेको संयोजक प्रधानले बताए । प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब दुईहजार जनाले हेर्ने अनुमान आयोजकको छ भने कार्यशाला करिब ३ हजार जनाले साक्षात्कार गर्नेछन् । सामाजिक संजालमार्फत करिब ५० हजारजनाले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । कला महोत्सवमा ख्यातिप्राप्त वरिष्ठ कलाकार ५ जना र शनिवारीय कला अभियानका २० जना र मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारको प्रत्यक्ष सहभागिता रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*