बकैयामा कांग्रेसको क्रियाशील नवीकरण तथा अन्तरक्रिया

हेटौंडा-नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशील नवीकरण तथा अन्तरक्रिया गरेको छ ।कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको अध्यक्षता एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतित्यतामा क्रियाशील नवीकरण, योजना कार्यान्वयन, पार्टीको सांगठनिक अवस्था, बजेटलगायतका विषयमा अन्तरक्रिया गरिएको हो । बागमती प्रदेशसभापति बानियाँले बकैयाक्षेत्रमा भएका विकास निर्माण सन्तोषजनक भएको र जनप्रतिनिधिलाई जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी आगामी बजेट निर्माण गर्दै निष्ठाका साथ कार्य गर्न निर्देशन दिए ।
नेता बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले स्थानीय तहमा गरेका विकास निर्माणका बारेमा समुदायसँग छलफल गरी स्थानीय समस्याको पहिचान एवम् समाधानका लागि पार्टीको तर्फबाट पहल गर्दा जनतामा पार्टीप्रतिको विश्वास बढ्दै जाने र लोकतान्त्रिक पद्दतिको विकासमा समेत टेवा पुग्ने बताए । अन्तरक्रियामा मकवानपुरको पूर्वीक्षेत्रमा भएका योजना कार्यान्वयनको अवस्था, बजेटको स्थिति र संगठन सुदृढीकरण र कांग्रेसको भावी रणनीतिलगायत विषयमा वडा सभापतिहरु, जनप्रतिनिधि र अगुवा कार्यकर्ताबीच छलफल भएको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, उपसभापति धर्मराज लामिछाने, जिल्लाप्रवक्ता अर्जुन चौलागाईं, बागमती प्रदेश सदस्यहरु जानकी लामा, रामशरण माझी, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाल, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, नेपाल किसान संघका जिल्ला अध्यक्ष सोमप्रसाद तिमल्सिना, नेता मीठाराम दाहाल, वडा सभापतिहरु, कांग्रेसबाट जितेका जनप्रतिनिधि, अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।