बागमतीको गाउँमा भन्दा सहरमा गर्भपतन गराउने अधिक

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार ०९:४९

हेटौंडा-बागमती प्रदेशको ग्रामीणक्षेत्र भन्दा शिक्षित मानिएको सहरीक्षेत्रमै बढी गर्भपतन गराउने गरेको सरकारी तथ्यांकले देखाएको छ ।प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गर्भपतन गराउनेको संख्या गाउँमा कम र सहरमा बढी रहेको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये सहरीक्षेत्रका जिल्लामा बढी मात्रामा गर्भपतन गराएको पाइन्छ ।

निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा काठमाडौंमा ५ हजार ९७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । यस्तै, चितवनमा २ हजार ६११ जना, ललितपुरमा एक हजार ६०१ जना, मकवानपुरमा एक हजार ६७ जना, काभ्रेमा ८६५ जना, धादिङमा ६३१ जना, भक्तपुरमा ४५९ जना, रामेछापमा २१८ जना, सिन्धुलीमा १६८ जना, दोलखामा १४७ जना, नुवाकोटमा ११४ जना, रसुवामा ७ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा १३ हजार १९६ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । सहरी अस्पतालमा भरपर्दो सेवा पाइने, जनघनत्व बढी हुने, गाउँभन्दा सहरमा गोपनीयता हुने भएकाले सहरमा सुरक्षित गर्भपतन गराउनेको संख्या धेरै हुने गरेको निर्देशनालयकी नर्सिङ अधिकृत सृजना पन्त बताउँछिन् । रोजगारीका लागि बाहिर जानुपर्दा, करियरका लागि, अनिच्छित गर्भ बस्नाले वा व्यक्तिगत समस्यालगायत कारणले सुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ ।

बागमती प्रदेशभर चालु आव २०८०÷८१ को पछिल्लो तथ्यांकमा १३ हजार १९६ जनाले सुरक्षित गर्भपतन गराएका हुन् । गत आव २०७९÷८० मा १९ हजार २२५ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै, आव २०७८÷७९ मा सुरक्षित गर्भपतन गराउनेको संख्या १८ हजार ४६३ थियो । आव २०७७÷२०७८ मा १४ हजार ६२२ जना, आव २०७६÷७७ मा १८ हजार ५३६ जना, आव ०७५÷७६ मा १८ हजार ५०५ जनाले सुरक्षित गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी स्त्रीरोग वरिष्ठ विशेषज्ञ डा. शान्ति श्रेष्ठका अनुसार पाठेघरमा आएको भ्रुणलाई निकाल्नु नै गर्भपतन हो । नेपालको कानुनअनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाइने श्रेष्ठले बताइन् । गर्भवती महिलाको ज्यानमा खतरा, जबरजस्ती करणी वा हाडनाता करणी र एचआइभी पोजेटिभ भएको महिलाले २८ हप्तासम्म गर्भपतन गराउन मिल्ने उनको भनाई छ ।

बागमती प्रदेशमा ६ वर्ष यता १ लाख २ हजार ५४८ जनाले सुरक्षित गर्भपतन गराएका छन् । बागमतीमा ६ वर्षको अवधिमा ६४ हजार १४८ जनाले औषधिको प्रयोगले सुरक्षित गर्भपतन गराएको निर्देशनालयको तथ्यांक छ । जसमा २० वर्षभन्दा कम उमेरका ५ हजार ४३० जना छन् । २० वर्ष वा सो भन्दामाथि उमेर समूहका ५८ हजार ७१८ जना छन् । सर्जिकल विधिबाट ३८ हजार ४०० जनाले सुरक्षित गर्भपतन गराएकोमा २० वर्ष कम उमेरका ४ हजार ७७८ जना र २० वर्ष वा सो भन्दामाथि उमेरका ३३ हजार ६२२ जना छन् ।

कानुनी मान्यता प्राप्त स्वास्थ्यसंस्था, तालिम प्राप्त स्वास्थ्यकर्मी भएको स्थानबाट गर्भपतन गराउन पाइने प्रावधान छ । सुरक्षित गर्भपतनका लागि कानुनमा उल्लेख भएका मापदण्ड पूरा भएमात्रै गर्भपतन गराउन पाइन्छ । ‘सुरक्षित मातृत्व तथा प्रजननस्वास्थ्य अधिकार ऐन २०७५ को दफा १५ अनुसार गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ, गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिकस्वास्थ्य खराब हुनसक्ने भनी इजाजतप्राप्त चिकित्सकको रायबमोजिम गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको भ्रुणलाई गर्भपतन गराउन मिल्ने प्रावधान छ ।

ऐनमा होस् ठेगान नभएको, तत्काल मञ्जुरी दिन नसक्ने अवस्था भएको वा अठार वर्ष उमेर पूरा नगरेको गर्भवती महिलाको हकमा निजको संरक्षक वा माथवरले मञ्जुरीनामा सेवा दिन सकिने छ भनेर उल्लेख छ । यस्तै, अठार वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नु पर्नेछ भनी उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*