शिक्षामा पहुँच होइन, आवश्यकताको आधारमा बजेटः मन्त्री मोक्तान

साझाकुरा
२०८१ जेष्ठ ८, मंगलवार १०:२९

हेटौंडा पर्याप्त बजेट नहुँदा शिक्षाको समग्र विकासमा समस्या झेल्नु परिरहेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षामा पहुँचको आधारमा नभई आवश्यकताको आधारमा बजेट बिनियोजन हुने बताएकी छन् ।हेटौंडा उपमहानगरपालिका वडा नं. १ लालझाडीस्थित बाराही आधारभूत विद्यालयमा बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुने दुई कोठे भवनको सोमबार सिलान्यास गर्दै मन्त्री मोक्तानले २०७२ सालको भूकम्पपछि ध्वस्त विद्यालय भवन निर्माण, मर्ज भएका विद्यालयको संरचना व्यवस्थापन, शौचालय निर्माण, बाल विकास केन्द्रको स्तरोन्नति स्वच्छ पिउने पानीको व्यवस्थापन चुनौतीको रुपमा रहेको उनले बताइन् ।

बागमती प्रदेश सरकारले शिक्षाको स्तरोन्नति गर्न पहुँचको आधारमा नभई माग र आवश्यकताको आधारमा क्रमशः बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री मोक्तानले आश्वस्त पार्नुभयो । उनले हेटौंडा उपमहानगरको १ नम्बर वडाको विद्यालय भएर पनि पछाडि परेको र आवश्यकता भएकै कारण बाराही आविमा दुई कोठे भवन निर्माणको लागि बजेट विनियोजन गरिएको बताइन् । उनले आगामी दिनमा विद्यालयका समस्या समाधानमा मन्त्रालय सकारात्मक रहँदै बजेट विनियोजन गर्ने बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष सविन न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीहरु झिकाउन, सिकाउन, टिकाउन र बिकाउन समस्या रहेको बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न नसके अब सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको लागि उपस्थित गराउनै समस्या पर्ने, भर्ना भए पनि सिकाइमा उपलब्धि हासिल गर्न गाह्रो हुने, विद्यालयमा निरन्तर टिकाएर पढाउन समस्या हुने र पढेर निश्चित योग्यता हासिल गरेपछि बजारमा रोजगारमा बिकाउन गाह्रो हुने उनको तर्क थियो । यस्तै समस्याको बीचमा विद्यालयमा दुई कोठे भवन निर्माणमा बागमती प्रदेश सरकारले सहयोग गरेकोमा उनले खुशी व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मञ्जु देवकोटाले विद्यालयको शैक्षिक र भौतिक अवस्थाबारे जानकारी गराएको कार्यक्रममा हेटौंडा नगर कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य रामकृष्ण अधिकारी, नेपाली कांग्रेस १ नं. इकाइ सभापति हरिकृष्ण महर्जन, नेकपा माओवादी केन्द्र वडा अध्यक्ष रेवती दाहाल, विद्यालयका सल्लाहकार ईश्वरी देवकोटा, लालझाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रुद्र तितुङलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*