हातेमालोको शेयरपुँजी ६ करोड ३६ लाख

साझाकुरा
२०८१ जेष्ठ ९, बुधबार ११:०६

हेटौंडा- हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयरपुँजी ६करोड ३६ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । २ हजार ७२२ जना सदस्य आवद्ध रहेको सहकारीमा २०८१ को बैशाख मसान्तसम्ममा ५० करोड २४ लाख ६३ हजार ९०२ रुपैयाँ बचत निक्षेप रहेको छ ।संस्थाले सदस्यलाई ५२ करोड ३४ लाख २७ हजार २६८ रुपैयाँ कर्जा लगानी गरेको सहकारीको व्यवस्थापक रमला सापकोटाले बताइन् । सहकारीले १८ औँ स्थापना दिवसको अवसरमा एक सातादेखि विविध कार्यक्रम गर्दै आएको छ । मंगलबार पत्रकारहरुसँग सहकारी कार्यक्रममा यस्तो जानकारी सार्वजनिक गरिएको हो ।

देशमा सहकारीभित्र हुने अपचलनको सवाल तीब्ररुपमा उठिरहेको समयमा मकवानपुरको हेटौंडा–२ मा रहेको हालेमालो सहकारीले नियमित अपनाउँदै आएको पारदर्शीताले सहकारीलाई प्रगतितर्फ डोहो¥याएको सहकारीका सचिव सीताराम दाहालले बताए ।सहकारीले सदस्यको सुझाव एवम् गुनासो सम्बोधन सहितको सदस्यसेवा, संस्थामा सूचना पाटीको व्यावस्थापन, सदस्य गुनासो पुस्तिका सहित सुझावको व्यवस्थापन, मोवाइल बैकिङ कारोबारबाट सदस्यलाई नियमित सूचना दिइएको निःशुल्क एसएमएस अलर्ट कारोबारबारे जानकारी गराउने गरेको छ । यसैगरी फेसबुकमार्फत सूचना तथा गतिविधिको जानकारी, वार्षिक प्रतिवेदन, भित्तेपात्रो निःशुल्क वितरण, संस्थाको गतिबिधि सूचना पाटीमा सार्वजनिक गर्ने गरिएको व्यवस्थापक सापकोटाले बताइन् ।

सहकारीमा जोखिम, द्वन्द्व तथा विपद व्यवस्थापन सयंन्त्रको निर्माण, कारोबार डाटा क्लाउडमा व्यवस्थापन, ऋणका फाईलहरु स्क्यान कपी सुरक्षित, साकोसको भौतिक संरचना, उपकरण तथा काउन्टरको बीमा, कार्यालयमा सिसि क्यामेरा व्यवस्था, कार्यालयमा अग्निनियन्त्रणयन्त्र व्यवस्था, सम्पत्ति शुद्धिकरण कार्यविधि बनाई लागु गरिएको उपाध्यक्ष केशव धितालले बताए । कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले समय सापेक्ष कार्यक्रम र योजना ल्याउँदा लाभदायक हुने बताए । मंगलबार भएको कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका प्रमुख विदुर खड्का, संस्थाका कानुनी सल्लाहकार अरुण खतिवडा, लेखासमिति संयोजक नारायणप्रसाद रेग्मी, प्रशिक्षक यमकुमारी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

साताव्यापि कार्यक्रमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहकारीले साताव्यापि कार्यक्रमअन्तरगत सेल्फ मेकअप तालिम, साँचोजीवन निर्माण अभियान कार्यक्रम, भान्छा सुधार अभियान तथा स्वस्थ्य रहने वैज्ञानिक सिद्धान्त, सञ्चालक समिति, उपसमिति, कर्मचारी, संस्थापक तथा पूर्वसञ्चालक समीक्षा बैठक, असल बचतकर्ता र ऋणी सदस्यसँग अन्तरक्रिया, सम्मान कार्यक्रम, रक्तदान तथा स्वास्थ्यपरीक्षण, संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण लगायतको कार्यक्रम गरेको अध्यक्ष हरिप्रसाद पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*