आग्रा स्पोर्टसले जित्यो उपमेयरकप ब्याडमिन्टन उपाधि
हेटौंडा-थाहा नगरपालिकामा भएको उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस टिमले जितेको छ । ब्याडमिन्टन संघ थाहानगर दोस्रो भएको छ ।आग्रा स्पोर्टसको तर्फबाट नरेन्द्र मोक्तान र देवकुमार अर्यालले खेलेका थिए भने ब्याडमिन्टन संघको तर्फबाट संग्राम खत्री र समराज पाख्रिनले खेलेका थिए । विजेता आग्रा स्पोर्टसले नगद २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा दोस्रो भएको ब्याडमिन्टन संघ थाहाले नगद १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । प्रतियोगितामा शिखरक्लब र थाहा नगरपालिकाको टिम सान्त्वना भएको छ ।
शिखर क्लबको तर्फबाट इशाक केसी र सुभाष थापाले खेलेका थिए भने थाहा नगरपालिकाको तर्फबाट कबिन्द्र वड र नबीन चौधरीले खेलेका थिए । सानत्वना टिमले नगद २ हजार ५ सयका दरले पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी आग्रा स्पोर्ट्सका नरेन्द्र मोक्तान घोषित भए । मोक्तानलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार थाहा नगरपालिका–६ मा रहेको ॐ अध्याय रिट्रीटले, दोश्रो पुरस्कार च्वाईस नेपालले र सान्त्वना पुरस्कार पालुङ भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेको थियो । ट्रफी सौजन्य थाहा नगरपालिका वडा नम्बर १० का अर्जुन बस्नेतले गरेका हुन् । ९ जेठबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । विजेता टिम तथा खेलाडीलाई थाहा नगरउपप्रमुख भरत गोपालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा थाहा नगरका प्रमुख प्रशासकीयअधिकृत कृष्ण गिरी, एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका थाहानगर अध्यक्ष जयराम खत्री, थाहा–७ का वडाध्यक्ष शिवराज थिङ, १२ नम्बर वडाध्यक्ष तथा खेलकु विकास समिति संयोजक टीकारम स्याङ्तान, च्वाइस नेपालका प्रताप घिमिरे, कृषि विकास बैंक पालुङका प्रबन्धक घनश्याम श्रेष्ठ, ब्याडमिन्टन संघ मकवानपुरका उपाध्यक्ष तथा निर्णायक विजयसिंह ठकुरी सदस्य यादवजंग रायमाझी लगायत खेलाडी तथा खेलप्रेमीको उल्लेख्य उपस्थिति थियो ।