हेटौंडाका दुई खेलाडी इलिट एकेडेमी कार्यक्रमका लागि छानिए
हेटौंडा-टोखा भगवती क्लब टोखाको पहलमा संचालित किकस्टार्ट–टोटनहम एफसीको इलिट एकेडेमी कार्यक्रमका लागि मकवानपुरका दुईसहित नेपालबाट १४ खेलाडी छानिएका छन् ।यसअघि इलिट एकेडेमी कार्यक्रमका लागि काठमाडौंमा टोखा भगवती क्लबसँगको सहकार्यमा खुला ट्रायल कार्यक्रम आयोजना गरिएको थियो । ट्रायलबाट अन्तिम चरणका लागि उत्कृष्ट १४ खेलाडी छानिएका हुन् ।
छनोटमा पर्ने हेटौंडा–२ बनसखण्डीका विशेष बानियाँ र हेटौंडा–१० भुटनदेवीका भुवन कामी रहेका छन् ।छनोट भएका खेलाडीले टोटनहमको क्षेत्रीय एकेडेमी किकस्टार्टसँग तालिम लिने अवसर पाउनेछन् । साथै उनीहरुले क्षेत्रीय एकेडेमीबाट टोटनहमका उच्चस्तरका खेलाडीसँग प्रशिक्षण गर्ने अवसरसमेत पाउनेछन् । आवासीय एकेडेमीका लागि छनोट भएका खेलाडीको नामावली भने छिट्टै प्रकाशित गरिने पनि क्लबले जनाएको छ ।