नेका उपसभापति गुरुङले भने, ‘कम्युनिष्ट पार्टीले रविको संरक्षण गरे’

साझाकुरा
२०८१ जेष्ठ ११, शुक्रबार १२:३२

हेटौंडा-नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेको घटनामा कम्युनिष्ट पार्टीहरुले संरक्षण गरिरहेको दाबी गरेका छन् ।हेटौंडामा प्रजातान्त्रिक विचार समाज मकवानपुरको आयोजनामा भएको प्रजातान्त्रिक दर्पण–२०८१ विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै गुरुङले गृहमन्त्री लामिछाने सहकारीमा बचतकर्ताको रकम हिनामिना घटनामा संलग्नता देखिएको आरोप लगाउँदै कारबाही गर्नबाट कम्युनिष्ट पार्टीले संरक्षण गर्दै आइरहेको बताएका छन् । गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले भने, ‘ठगी गर्दै दुई नागरिकता र दुई पासपोर्ट बोकर राजनीतिमा नेता बनिँदैन,’ ।

सरकारले सबै मन्त्रीहरुको छानवीन गरी दोषीलाई एउटै चश्माले हेर्नुपर्ने उनको जोड छ । विचार, सिद्धान्त एकातिर राखेर कम्युनिष्टहरुले संसदमा देखाएको संसदीय अभ्यास गलत भएको उनको भनाइ छ । गुरुङले प्रजातान्त्रिक विचार समाजलाई सक्रिय बनाएर नेपाली राजनीतिमा देखिएको फोहोरलाई सफा गर्न सके निराशा होइन आशावादी हुन सकिने बताए ।

राजनीतिमा प्रवृति खराब भएपनि व्यवस्था खराब नभएको उनको दाबी छ ।कांग्रेसीहरुको व्याख्या गर्ने शैली खराब देखिए पनि प्रजातान्त्रिक विचारमा कांग्रेसले बाटो नछोडेको उनले जिकिर गरे । जनताको मनछुने एजेण्डामा कांग्रेसले काम गर्न सकेप्रजातान्त्रिक विचार समाजको सिद्धान्त प्रतिपादन हुने बताए । आन्तरिक विवाद साम्य बनाएर भावी रणनीतिमा पार्टी लाग्नुपर्ने उपसभापति गुरुङको जोड छ । कांग्रेसले भ्रष्टाचारीविरुद्ध आवाज बुलन्द गर्न आफैंबाट सुरुवात गर्नुपर्नेमा जोड दिँदै गफले मात्र कांग्रेस हुन नसक्ने हुदाँ व्यवहारले ठीक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

भ्रष्टाचारसँग जोडिएका कुनैपनि दलका नेतालाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने उनको भनाई छ । सुशील कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमानको अनुयायीलाई आत्मसात् गरी विचार र सिद्धान्तलाई सही ढंगले लागू गर्न कार्यकर्तालाई निर्देशन दिए । देशमा अर्थतन्त्र सुधारका लागि आफू मन्त्री हुँदा केही प्रयासहरु भए पनि पुरा हुन नसकेको बताए । नेता गुरुङले देशमा रहेको जडिबुटी, घरेलु मदिरालाई ब्राण्ड बनाएर विश्व बजारमा लैजानसके अर्थतन्त्रमा फड्को मार्ने विश्वास लिए ।

प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्ष डा.देवचन्द्र मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने, हेटौंडा उपमहानगरका पूर्वसभापति आनन्दराम पराजुली लगायतले धारणा राखेका थिए । कार्यक्रमको अवसरमा प्रजातान्त्रिक सेनानीबाट अशोक श्रेष्ठ, यादवराज पराजुली, परमेश्वर भ्लोन, हरिनन्द खरेल र स्वर्गीय ईश्वरचन्द्र अग्रवाललाई मरणोपरान्त सम्मान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*