हेटौंडामा राष्ट्रिय शैक्षिक सम्मेलन, उच्च शिक्षामाथि मन्थन

साझाकुरा
२०८१ जेष्ठ १२, शनिबार १५:२९

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा हेटौंडामा दुईदिने राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । उच्चशिक्षाका चुनौतीः रोजगारी सृजना, दिगोपन र कक्षा छाड्ने दर घटाउने विषयक सम्मेलन शुक्रबारदेखि हेटौंडामा सुरु भएको हो ।सम्मेलनमा देशभरका आगिंक, सामुदायिक र निजी गरी ६० भन्दा बढी क्याम्पसका करिब तीन सयजना प्राध्यापकको सहभागिता रहेको मकवानपुर बहुमुखी क्याम्पसप्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिए । सम्मेलनको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलले विद्यमान परीक्षा प्रणालीका कारण देशमा शैक्षिक बेरोजगार बढ्दै गएको जिकिर गरेका छन् ।

अहिलेको शिक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गरी पूर्णरुपमा मेरिटवेसमा लैजानुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री जम्कट्टेलले वर्तमान सन्दर्भमा विद्यार्थी अभावका कारण सामुदायिक क्याम्पसहरु मर्ज गरेर जानुपर्ने उनको भनाई छ । स्थानीय तहसँगको सहकार्यमा बागमती प्रदेशमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गर्ने बताए । उनले शैक्षिक पाठ्यक्रम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताए ।

नेपालको शिक्षा प्रणाली पुरानै ढाँचाको रहेकाले पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको बताए । ‘नेपाली शिक्षा प्रणाली पुरानै ढाँचाको रहेको छ, अब पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । परीक्षा प्रणालीलाई पूर्णरुपमा योग्यताक्रम (मेरिट)मा लैजानुपर्छ,’ उनले भने, ‘प्राविधिक शिक्षामा रहेको कोटाप्रणालीलाई शिक्षामा सिण्डिकेट भइरहेको छ । सरकारले कोटाप्रणाली हटाएर विद्यार्थीले पढ्न चाहेको विषय पढ्न पाउने व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले उच्चशिक्षालाई प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी सरकारको रहेको छ ।,’

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उच्चशिक्षामा समस्या रहेको र समस्या समाधानमा ध्यान जान नसकेको बताए । विद्यार्थी विदेशिने क्रम बढ्दो रहनुको कारण यकिन गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे । सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, विज्ञ सल्लाहकार विश्वविद्यालय अनुदान आयोगका प्रा.डा. हृदयरत्न बज्राचार्य, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामालगायतले उच्चशिक्षामा रहेका समस्या, चुनौती र अबसरका बारे धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*