बागमतीमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने

साझाकुरा
२०८१ जेष्ठ १२, शनिबार १५:३४

हेटौंडा-बागमती प्रदेश सरकारले गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी तीनदिन मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन् ।मन्त्री श्रेष्ठले जेठ १३, १४ र १५ गते गरी तीनदिन गणतन्त्र दिवस मनाउन लागेको बताएका हुन् ।

त्यसको लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा ४२ सदस्यीय मूल समारोह समिति गठन गरेको उनले बताए । उनका अनुसार, सो अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धी विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले नारायणी मलको एनएस सिनेमा हलमा लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गर्ने प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालय परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौंडा उपमहानगरपालिका मार्फत् समन्वय गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यसैगरी, १५ गते नै बिहान ७ः३० बजे हेटौंडाको भुटनदेवी माविको चौरमा भेलाभई स्कुलरोड–बुद्धचोक–चौकिटोल–मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा व्याण्ड बाजासहितको प्रभातफेरी कार्यक्रमको आयोजना गरिने जनाइएको छ । दिवसमा प्रदेशका सबै मन्त्रालयले आफ्नो कार्यालय परिसरमा राष्ट्रिय झण्डा फराउने, हेटौंडाको बुद्धचोक र बसपार्कमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झण्डा फराउने र जेठ १४, १५ र १६ गते सबै मन्त्रालय र निकायले आफ्नो वेबसाइटको हामपेजमा गणतन्त्र दिवस २०८१ भव्यरुपले मनाऔं लेखिएको ब्यानर डिस्प्ले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*