सामुदायिक विद्यालयका अध्यक्ष र प्रअबीच शैक्षिक अन्तरक्रिया: ‘शिक्षा र स्वास्थ्यको लगानी उत्पादनसँग जोडिनुपर्छ’

साझाकुरा
२०८१ जेष्ठ १३, आईतवार १३:४३

हेटौंडा, १२ जेठ÷ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा र स्वास्थ्यमा हुने लगानीलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् ।शनिबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको हेटौंडामा भएको शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले शिक्षा र स्वास्थ्यको लगानी आर्थिक वृद्धिद्धरसँग नजोडिँदा उचित प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले बदलिंदो सामाजिक परिवेशअनुरुप नै नेतृत्वकर्ताले आफूलाई पनि बदल्नुपर्ने धारणा ब्यक्त गरे ।

पुरानो नीति तथा कार्यक्रम बोक्नेहरुले राष्ट्रको नेतृत्व गर्न नसक्ने उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले जिम्मेवार ठाउँमा बस्नेहरुले नै केही हुँदैन, केही गर्न सकिंदैन भन्ने गलतभाष्य स्थापित गर्न खोजेको आरोप लगाए । मुख्यमन्त्री जम्कट्टेलले समस्याहरु देखाएर मात्र शिक्षाक्षेत्रमा सुधार नआउने बताउँदै समस्यासँगै समाधानका उपाय खोज्न शिक्षासम्बद्ध सरोकारवालालाई आग्रह गरे ।

मुख्यमन्त्री जम्कट्टेलले अहिलेको शिक्षा प्रणालीको सैद्धान्तिक पाटो बलियो भएपनि व्यवहारिक पक्ष भने कमजोर भएको बताए । पाठ्यक्रम परिवर्तन गरी नर्सिङ र इन्जिनियरिङ कोर्षलाई माध्यमिक तहमा ल्याउनुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री जम्कट्टेलले नेपालको शिवद्यालय शिक्षाप्रणालीमा धेरै सुधार गर्नुपर्ने समय आएको बताए । मुख्यमन्त्री जम्कट्टेलले प्राविधिक धारको पाठ्यक्रम विकास गर्नु जरुरी रहेको बताउँदै सामुदायिक विद्यालयमा शिक्षकले कक्षाकोठामा गरेको मिहेनतलाई सम्मान गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री जम्कट्टेलले पुरानो शैलीको पाठ्यक्रम परिवर्तन गरी विद्यार्थीलाई रुचीकर विषय समाबेश गर्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले पुरानै शैलीको पाठ्यक्रम परिमार्जन गरी प्राबिधिक सीपमूलक शिक्षा पाउने गरी नयाँ ढाँचामा पाठ्यक्रम आवश्यक भएको बताए । सामुदायिक विद्यालयका भौतिक संरचनाहरु राम्रो बन्दै गएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको रुचीको विषय समाबेश गरी शिक्षामा सुधार ल्याउन जरुरी रहेको औल्याए ।

परिवर्तन हामीबाटै सुरु गरौं भन्ने नाराका साथ सुरु भएको शैक्षिक अन्तरक्रियामा मुख्यमन्त्री जम्कट्टेलले वर्तमान पाठ्यक्रमले सौद्धान्तिक ज्ञान मात्रै दिएकोले व्यवहारिक र प्राविधिक शिक्षाको अभावमा अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो बनेको बताए । मावि तहसम्मको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले पाएपछि प्रदेशले शिक्षा नीति बनाएको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले विद्यालयमा नर्सिङ र इन्जिनियरिङ कोर्ष अनिवार्य हुनुपर्ने धारणा राखे ।

बागमती प्रदेशको राजधानी हेटौंडाको सडक बिस्तार गर्ने तयारीका साथ प्रदेश सरकारले काम गरिरहेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै हेटौंडा सहर बिस्तारको योजना राखेर प्रदेशको राजधानी जस्तै बनाउने बताए । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले आयोजना गरेको कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. पेसल खनाल र स्थानीय शासनविज्ञ सोमत घिमिरेले प्रमुखवक्ताको रुपमा प्रशिक्षण दिएका थिए ।

हामी सुधार्छौ हाम्रो विद्यालय राष्ट्रिय अभियानका क्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आयोजना, सामाजिक विकास मन्त्रालयको सहकार्य एवम् शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । मकवानपुरको बकैया, मकवानपुरगढी, बागमती, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाभित्रका करिव ३०० सामुदायिक विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समिति अध्यक्षको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, खानेपानी, उर्जा एवम् सिचाई मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, शिक्षा विकास समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, शिक्षा अधिकृत उन्नति ढकाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*