ऋषेश्वर–११ जित्यो थाहा गोल्डकपको उपाधि

साझाकुरा
२०८१ जेष्ठ १७, बिहीबार १२:५४

हेटौंडा-ऋषेश्वर ११ फुटबल क्लबले पाँचौं संस्करणको थाहा गोल्डकपको उपाधि जितेको छ । थाहा नगरपालिका–४ स्वास्थ्यचोकको ऋषेश्वर–११ ले खेलकुद विकास समिति चित्लाङलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।थाहा नगरपालिकाको इन्द्रायणीचौर खेलमैदानमा बुधबार भएको फाइनल खेलमा ऋषेश्वर–११ ले उपाधि चुमेसंगै नगद २ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । ऋषेश्वरको जितमा अमित तामाङले १ गोल, रिचार्ड विल्सनले ३ गोल, सन्जोग मोक्तानले १ गोल र सुनिल तामाङले २ गोल गरेका थिए ।

प्रतियोगितामा ऋषेश्वर–११ का रिचार्ड विल्सनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै हाइ स्कोरर हुँदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ, उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल र प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ घोषित भए । प्रतियोगिताका उपविजेता खेलकुद विकास समिति चित्लाङले नगद १ लाखसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफी पुरस्कार पाए भने उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई थाहा नगरप्रमुख विष्णुबहादुर विष्ट तथा उपप्रमुख भरत गोपालीलगायत अतिथिले पुरस्कार प्रदान गरेका थिए । शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा शिखर क्लवका पूर्वखेलाडी तथा पूर्वअध्यक्षहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, थाहानगर खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तान, थाहानगरको ३ नम्बर वडाध्यक्ष हिरेन्द्रकुमार
रायमाझी, ४ नम्बर वडाध्यक्ष नारायण लामा, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पूर्वखेलकुद विकास समिति संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, राप्रपा थाहानगर कार्यवाहक अध्यक्ष कुलमान तामाङ, रास्वपा नगर सभापति जयराम खत्री, पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी, नगर खेलकुद विकास समिति सदस्यसचीव अनिल लामिछाने, सदस्य यादव रायमाझी, सुमन बिष्ट, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत अतिथिको उपस्थिति थियो ।९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा १२ जेठबाट सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*