पशुपतिनाथका बालबालिकालाई फ्रेस मिल्क सहित खिर

साझाकुरा
२०८१ जेष्ठ १८, शुक्रबार १०:०२

हेटौंडा- मकवानपुरको मनहरीस्थित पशुपतिनाथ माविका बालबालिकालाई प्रदेश दुग्ध विकास बोर्डले खाजा खुवाएको छ । जुन १ मा मनाईने अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारेर बोर्डले विद्यार्थीलाई दुग्धपदार्थको खाजा खुवाएको हो ।विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका करिब २०० विद्यार्थीलाई आलु पनिरको तरकारी, खिरका साथै फ्रेस मिल्क उपलब्ध गराएको हो । कक्षा ६ देखि ८ सम्मका करिब २०० जनालाई फ्रेस मिल्क खुवाएको विद्यालयले जनाएको छ । दूधजन्य खाद्यबस्तुको उपभोग सही तरिकाले गर्न सचेतना गराउने उद्देश्यले बोर्डले कार्यक्रम राखेको प्रदेश दुग्ध विकास बोर्डकादुग्ध प्रबिधि अधिकृत डा.मन्दिप पोखरेलले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिनजन्य पदार्थका लागि दैनिक दूध तथा दूधजन्यपदार्थ खानुपर्ने बताए । ग्रामीण क्षेत्रमा पशुपालन गरी दूध उत्पादन गर्ने किसानको संख्या घटिरहेको अवस्थामा बोर्डले सचेतनामूलक कार्यक्रम राखेर राम्रो काम गरेको बताए । हरेक आइतबार कक्षा ५ सम्मका बालबालिकालाई दिवाखाजाको रुपमा खिर खुवाउने गरेको भएपनि सीमित बजेटका कारण गुणस्तरीय खिर बनाउन नसकेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।

१५ लिटर दूधमा पकाएको खिर खाइरहेका बालबालिकाले बोर्डको सहयोगमा ४० लिटर दूधमा पकाएको खिर खाएका थिए । दूधजन्य उत्पादन बृद्धि गर्न र उपभोग गर्न प्रदेश दुग्ध विकास बोर्डले साताब्यापी कार्यक्रम संचालन गरिरहेको बोर्डका लेखाअधिकृत प्रकाश खतिवडाले जानकारी दिए । सीमान्तकृत वनकरिया, दनुवार, चेपाङ बालबालिका अध्ययन गर्ने पशुपतिनाथ माविका बालबालिकालाई एक दिन गुणस्तरयुक्त दिवाखाजा उपलब्ध गराएको बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*