एमाले मकवानपुर अधिवेशन

पोख्रेल र खुलालको भिडन्त पक्कापक्की, थापा र स्याङ्तान के गर्छन ?
साझाकुरा
२०८१ जेष्ठ १९, शनिबार ०९:५३

हेटौंडा-नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । पहिलो दिन खुलासत्र र बन्दसत्रमा सचिव, लेखा र अध्यक्षको प्रतिवेदन प्रस्तुत भएको छ ।प्रतिवेदनमाथि आज शनिवार बिहानबाट समूहगत छलफल हुने र त्यसपछि एमाले मकवानपुरको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने अध्यक्ष मण्डलका अध्यक्ष पार्टी पोलिटब्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले जानकारी दिए । एमाले मकवानपुरले नयाँ अध्यक्षसहित सिंगो जिल्ला कमिटी पाउने भएकाले पार्टी पंक्तीको ध्यान यतिबेला अधिवेशन केन्द्रित छ ।

मुख्यतः जिल्लाकै ठूलो दल एमालेको अध्यक्ष को बन्छन् ? भन्ने कौतुहल्ता पार्टीभित्र मात्र नभई बाहिरी राजनीतिवृतमा पनि उत्तिकै चासो र चर्चाको विषय बनेको छ । अधिवेशनको पहिलो दिन केही प्रतिक्रियाहरु मार्फत नयाँ नेतृत्व आएपछि पार्टीको भविष्य र आगामी कार्यदिशा कस्तो बन्ला ? भन्ने चिन्ता र चासो तल्लो तहका कार्यकर्तासम्मै प्रष्ट देखिएको छ । विगतमा सहमतिको आधारमा नेतृत्व चयन हुँदा आलोचना र असन्तुष्टि देखिएकोमा यसपाली निर्वाचन कुनै हालतमा हुनुपर्ने कार्यकर्ता तहको माग छ ।

अधिवेशनका प्रमुखअतिथि पार्टी महासचिव शंकर पोख्रेलले भने सहमतिका आधारमा नेतृत्व चयन गर्न अनुरोध गरे । उनले निर्वाचनलाई जोड नदिई सहमतिमै नेतृत्व टुंग्याउन निर्देशनात्मक अनुरोध गरेको अभिव्यक्त भनाइबाट छर्लङ्गै हुन्थ्यो । तर, महासचिवको अनुरोधलाई पनि वेबास्था गर्दै एमाले मकवानपुरको नेतृत्व चयन निर्वाचन विधिबाटै हुनेमा शंका देखिँदैन ।एमाले मकवानपुरमा ठूला दुईधार प्रष्टसँग खुलेको छ । डोरमणि पौडेल टिम र कृष्ण दाहाल टिमको चर्चा यत्रतत्र सर्वत्र छ । नेता रामेश्वर रानाको समर्थन कसलाई ? भन्ने चासो पनि छ । पार्टी बागमती प्रदेशको अधिवेशनको बदला तिर्न पनि दाहालको टिम सशक्त ढंगबाट आउने चर्चा छ । दाहालको टिमबाट एमालेका पुराना नेता श्रीधर पोख्रेल अध्यक्षका उम्मेदवार छन् । श्रीधरलाई पार्टी केन्द्रीय सदस्य तथा पुराना, इमान्दार छविका नेता केदार न्यौपानेको समर्थन छ ।

श्रीधर बलिया उम्मेदवार हुन् । नेतृत्वमा हुनुपर्ने राजनीतिक क्षमता र व्यक्तित्वका कारण पनि पार्टीभित्र श्रीधर चर्चित छन् । उनको प्रतिद्वन्द्वीमा पुराना नेता रघुनाथ खुलाल उभिने पक्कापक्की छ । खुलाललाई डोरमणि पौडेलको साथ छ । अधिवेशनको पहिलो दिन श्रीधर र खुलाल दुवैले प्रतिनिधिहरुसँग उम्मेदवारीको बारेमा खुलेर कुरा गरेका छन् ।खुलाल पार्टी बागमती प्रदेश सचिवालय सदस्य हुन् । प्रदेशको सचिवालय सदस्य भएर पनि जिल्ला अध्यक्षको उम्मेदवार बन्न आएको विषयले भने खुलाल प्रश्नको घेराबन्दीमा परेका छन् । खुलाल यसअघि एमाले मकवानपुरको अध्यक्ष पदमै मुनु सिग्देलसँग १ मतले पराजित बनेका थिए । २०७४ को आमनिर्वाचन पछि जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरे ।

श्रीधर र खुलालसँगै लालबहादुर थापा र ईन्द्रमान स्याङ्तान पनि अध्यक्षको लाइनमा छन् । गत प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका थापा पार्टीका वर्तमान उपाध्यक्ष हुन् । स्याङ्तान पार्टी प्रदेश कमिटीको वर्तमान सदस्यसमेत छन् । उनले निर्वाचन जितेर प्रदेशसदस्य बनेका हुन् । थापालाई नेता रामेश्वर राना र स्याङ्तानलाई पार्टी इञ्चार्ज देवी ज्ञवालीको साथ रहेको चर्चा छ । अध्यक्षमा देवराज रिमाल र ध्रुव चौलागाईं पनि आकांक्षी देखिएका छन् ।

१०५ सदस्य जिल्ला कमिटी चयन हुनेछ । यसैगरी उपाध्यक्ष पदका लागि विष्णु ढकाल, नवीन सिग्देल, हिदम लामा, सुनिल मोक्तान, पार्वती रानाको चर्चा छ । सचिव पदमा बिदुर हुमागाईं, मदनकुमार दाहाल, राजन थापा, सुमित्रा काफ्ले लगायतको चर्चा रहेको छ । उपसचिव पदमा सीता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, सन्तोष पौडेल, शिवहरि दाहाल, रमिला सापकोटा, ईन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाईलगायतको चर्चा छ ।
संस्थापनको उम्मेदवार छैन ?

अधिवेशनहरुमा पार्टी भित्रको संस्थापनपक्ष र संस्थापनइतरको समूहप्रति आमनेता, कार्यकर्ताको चासो रहने गर्दछ् । तर, मकवानपुरको जारी अधिवेशनमा संस्थापन पक्षको उम्मेदवार नरहेको चर्चा परालमा आगो सल्किए जसरी सल्किएको छ ।अधिवेशन उद्घाटन गर्न आएका पार्टी महासचिव पोख्रेलले आन्तरिकरुपमा संस्थापन पक्षको कुनै उम्मेदवार नरहेको बताएका हुन् । ‘महासचिवज्यूले संस्थापन पक्षको कुनै उम्मेदवार छैन भनेर भन्नु भएको सुनिएको छ । उहाँले सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्नुको पछाडि संस्थापनको उम्मेदवार छैन भनेको चर्चा सत्य हो भन्ने लाग्छ,’ एक नेताले भने, ‘संस्थापन पक्षको उम्मेदवार छैन भनेर महासचिवज्युले भनेपछि अध्यक्षका प्रत्यासीहरु बढ्ने स्वभाविक कुरा छ । जसकारण अध्यक्षमा चार जनाको भिडन्त पनि हुन सक्छ ।,’

यसमा तपाइको मत

Your email address will not be published.


*