एमाले मकवानपुर अधिवेशन

अध्यक्षमा ५ जनाको उम्मेदवारी, आजै मतदानको तयारी
साझाकुरा
२०८१ जेष्ठ २०, आईतवार ११:०८

हेटौंडा-नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।शनिवार अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित पदाधिकारीमा पाँच सिटका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा श्रीधर पोख्रेल, रघुनाथ खुलाल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी परेको हो । शनिबार साँझ ६ बजेसम्म निर्धारण गरिएको समयमा उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिएका छन् ।

एमाले मकवानपुरले नयाँ अध्यक्षसहित सिंगो जिल्ला कमिटी पाउने भएकाले पार्टीपंक्तीको ध्यान यतिबेला अधिवेशन केन्द्रित छ । मुख्यतः जिल्लाकै ठूलो दल एमालेको अध्यक्ष को बन्छन् ? भन्ने कौतुहल्ता पार्टीभित्र मात्र नभई बाहिरी राजनीतिकवृतमा पनि उत्तिकै चासो र चर्चाको विषय छ । अधिवेशनको पहिलो दिन केही प्रतिक्रियामार्फत् नयाँ नेतृत्व आएपछि पार्टीको भविष्य र आगामी कार्यदिशा कस्तो बन्ला ? भन्ने चिन्ता र चासो तल्लो तहका कार्यकर्तासम्मै प्रष्ट देखिएको छ ।

एमाले मकवानपुरमा ठूला दुईधार प्रष्टसँग खुलेको छ । डोरमणि पौडेल टिम र कृष्ण दाहाल टिमको चर्चा छ । तर, यहाँ पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवाली नजिक मानिएका ईन्द्रमान स्याङ्तान र रामेश्वर राना नजिक मानिएका लालबहादुर थापा पनि उम्मेदवार रहेकाले नेतृत्वमा चौपक्षीय भीडन्तको सम्भावना देखिन्छ । उम्मेदवारी फिर्ताको समय आज आइतबार बिहानसम्म राखिएको छ । आजै मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

कृष्ण दाहालको टिमबाट एमालेका पुराना नेता श्रीधर पोख्रेल अध्यक्षका उम्मेदवार छन् । श्रीधरलाई पार्टी केन्द्रीय सदस्य तथा पुराना, इमान्दार छविका नेता केदार न्यौपानको समर्थन छ । श्रीधर बलिया उम्मेदवार हुन् । नेतृत्वमा हुनुपर्ने राजनीतिक क्षमता र व्यक्तित्वका कारण पनि पार्टीभित्र श्रीधर चर्चित छन् । रघुनाथ खुलाललाई डोरमणि पौडेलको साथ छ । खुलाल पार्टी बागमती प्रदेश सचिवालय सदस्य हुन् । जिल्ला समन्वय समिति मकवानपुरको पूर्वप्रमुख रहेका खुलाल पनि बलियो अवस्थामा रहेका छन् ।

प्रदेशको सचिवालय सदस्य भएर पनि जिल्ला अध्यक्षको उम्मेदवार बन्न आएको विषयले भने खुलाल कार्यकर्ताको प्रश्नको घेराबन्दीमा छन् । खुलाल यसअघि एमाले मकवानपुरको अध्यक्ष पदमै मुनु सिग्देलसँग १ मतले पराजित बनेका थिए । २०७४ पछि जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरे । अर्का उम्मेदवार थापा वर्तमान कमिटीको उपाध्यक्ष हुन् । स्याङ्तान पार्टीका पुराना नेता हुन् । उनी २०४९ मा चुरियामाई गाविस अध्यक्ष बनेर नेतृत्व कुशलतापूर्वक सम्हालेका थिए ।

यसैगरी, उपाध्यक्ष पदमा हिदम लामा, सुनिल मोक्तान, ध्रुव चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ । सचिवमा मदनकुमार दाहाल, सीता विष्ट, सुमित्रा काफ्ले, नरहरि महत रराजन थापाको उम्मेदवारी परेको छ । उपसचिव खुलातर्फ इन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वादोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारीपरेको निर्वाचन समितिका तिमल्सिनाले जानकारी दिए ।

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारको अन्तिम नामावली आइतबार बिहान ७ बजे प्रकाशन हुनेछ भने आइतबार मध्यान्ह १२ बजेबाट मतदानको कार्यक्रम सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । ५ जना पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । ७७४ जना प्रतिनिधिले भोट हाल्न पाउने जनाइएको छ ।सहमतिको आधारमा नेतृत्व चयनको प्रयास पनि भइरहेको छ । तर, सहमति हुने सम्भावना कमजोर रहेकाले निर्वाचनमै जान सक्ने नेताहरु बताउँछन् । विगतमा सहमतिको आधारमा नेतृत्व चयन हुँदा आलोचना र असन्तुष्टि देखिएकोमा यसपाली निर्वाचन कुनै हालतमा हुनुपर्ने कार्यकर्तातहको माग छ ।

अधिवेशनका प्रमुखअतिथि पार्टी महासचिव शंकर पोख्रेलले शुक्रबार सहमतिका आधारमा नेतृत्व चयन गर्न अनुरोध गरेका थिए । उनले सहमतिमै नेतृत्व टुंग्याउन निर्देशनात्मक अनुरोध गरेका
हुन् । तर, कार्यकर्ता यो मान्न तयार नदेखिएको अधिवेशनका सहभागीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*