एमाले मकवानपुरको अध्यक्षमा पोखरेल निर्वाचित

साझाकुरा
२०८१ जेष्ठ २२, मंगलवार ११:१७

हेटौंडा-नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् ।सोमबार दिउँसो सम्पन्न मतगणनाअनुसार पोखरेलले ३१३ मत ल्याएर विजय हासिल गरे । पोखरेलसँग प्रतिस्पर्धा गरेका ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल पराजित भए । इन्द्रमानले २६२ मत ल्याउँदा थापाले १६६ मत मात्रै पाए । अर्का उम्मेदवार रिमालले ११ मत ल्याए । १५ नम्बर वडा घर भएका स्याङ्तानलाई संस्थापन पक्षको उम्मेदवारका रुपमा चर्चा गरिएको थियो ।तर, मकवानपुरमा संस्थापन भन्दा संस्थापनइतरको समूह शक्तिशाली बनेको छ । मकवानपुरबाट चारपटक सांसद भइसकेका कृष्णप्रसाद दाहाल र पार्टी केन्द्रीय सदस्य केदार न्यौपानेको समर्थनमा पोखरेलले इतर समूहको नेतृत्व गरेका थिए । एमाले मकवानपुरको पदाधिकारीमा कृष्ण र केदार टिमको पल्लाभारी भएको छ । उपाध्यक्षमा हिदम लामा र सचिवमा सीता विष्टले जिते । अध्यक्षमै उम्मेदवारी दिएका रघुनाथ खुलालले मनोनयन फिर्ता लिएर स्याङ्तानलाई समर्थन गरेका थिए ।

मकवानपुरमा संस्थापन पक्ष भनिएको डोरमणि पौडेल समर्थनको समूह र पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीले जन्माएको तेस्रोधार अर्थात स्याङ्तान प्यानल पोखरेलले नेतृत्व गरेको संस्थापनइतरसँग पराजित बनेको हो । स्याङ्तान ज्ञवालीको समर्थनमा र थापा रामेश्वर रानाको समर्थनमा निर्वाचन उठेका थिए ।यसैगरी, उपाध्यक्षमा हिदम लामा ४७६ मतसहित विजयी भएका छन् । लामासँग पराजित भएका १५ नम्बर वडाका वडाध्यक्ष समेत रहेका सुनिल मोक्तानले १९७ मत, ध्रुवप्रसाद चौलागाईंले २६ र भरत दुलालले ३८ मत मात्रै पाए । सचिवमा २९७ मत ल्याउँदै सीता विष्ट निर्वाचित भएकी छन् । विष्टले मदन दाहाल (२५५) र राजन थापा (१७१) लाई हराएकी हुन् । दाहाल र थापालाई संस्थापन पक्षका उम्मेदवारका रुपमा हेरिएको थियो ।

उपसचिव खुलामा २४१ मत ल्याएर फुर्वादोर्जे लामाले र उपसचिव महिलामा २४१ मत पाएर आरती पाठकले जित हात पारेका छन् । उपसचिव खुलामा इन्द्र नेपाल (१२९), कृष्णप्रसाद चौलागाईं (८६), खेमराज जर्गामगर (१००) र दीपक खड्काले १६७ मत मात्रै ल्याए । उपसचिव महिलामा पार्वती रानाले १७२, जुना दाहालले १५२ र कल्पना बलामीले १५६ मत ल्याए ।सोमबार बिहान १० बजेदेखि पदाधिकारीको मात्रै मतगणना गरिएको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिए । सोमबार ५ बजेदेखि पदाधिकारीको मतगणना सकिएपछि सदस्यहरुको मतगणना सुरु गरिएको थियो । समाचार तयार पार्दासम्म सदस्यको मतपरिणाम भने उपलब्ध हुन सकेको छैन ।

शनिवार अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिवसहित पदाधिकारीमा पाँच सिटका लागि २८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्षमा पोखरेल, खुलाल, स्याङ्तान, थापा र रिमालको उम्मेदवारी परेकोमा खुलालले फिर्ता लिए । उनी पार्टी बागमती प्रदेश कमिटी सचिवालय सदस्यसमेत थिए । खुलाल यसअघि एमाले मकवानपुरको अध्यक्ष पदमै मुनु सिग्देलसँग १ मतले पराजित बनेका थिए । २०७४ पछि जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरे । स्याङ्तान पनि प्रदेश कमिटी सदस्य हुन् । ५ जना पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो । ७७७ प्रतिनिधिमध्ये ७६५ जनाले मत हालेका थिए ।

को हुन् श्रीधर पोखरेल ?

साढे चारदशक लामो राजनीतिक जीवनको अनुभव संगालेका एमाले नेता पोखरेल नेकपा एमाले मकवानपुरको अध्यक्ष निर्वाचित भएका छन् ।२०३५ सालबाट विद्यार्थी आन्दोलनमा होमिएका पोखरेल २०३६ सालको आन्दोलनमै सक्रियतापूर्वक सहभागी बनेका थिए । त्यतिबेला उनी अनेरास्ववियु मकवानपुरको उपाध्यक्ष थिए । २०३७ देखि २०४० सम्म अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व गरेका पोखरेल २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेद्वार जिताउने अभियानमा सक्रिय बनेका थिए ।२०४४ सालमा जनपक्षीय मन्चको सचिव बनेका पोखरेल मकवानपुरका गाउँबस्ती डुल्दै कम्युनिष्ट आन्दोलनलाई उत्कर्षमा पु¥याउन सक्रिय रहे । २०४६ को जनआन्दोलनमा उनको सक्रियता थियो । विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका पोखरेल २०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको उपाध्यक्ष बने । उनले युवा संघका नारायणी अञ्चल ईन्चाज, केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

पिपुल भोलिन्टियर राष्ट्रिय कमिटी सदस्यसमेत बनेका पोखरेल युवा र विद्यार्थीका क्षेत्रमा काम गरेको अनुभवबाट २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको सदस्य भए । २०५४ सालदेखि १२ वर्ष पोखरेलले कार्यालय सचिवको भूमिका निर्वाह गरे । २०६२ सालमा नेकपा एमालेको सचिवको भूमिका निर्वाह गरिसकेका पोखरेलसँग २०३६, २०४६ र ०६२–०६३ जनआन्दोलनमा सहभागी बनेको र नेतृत्व गरेको अनुभव छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*