बालजागृति बोडिङमा विद्यार्थी नेता छान्न मतदान, मैनाली निर्वाचित

साझाकुरा
२०८१ जेष्ठ २६, शनिबार १०:२३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ स्थित बालजागृति इंग्लिस बोडिङ स्कूलमा विद्यार्थीका नेता छनोटका लागि शुक्रबार मतदान गरिएको छ ।विद्यालयमा हरेक वर्ष विद्यार्थीले आफ्ना नेता छनोटका लागि निर्वाचनको अभ्यास गर्दै आएको बताइएको छ । विद्यालयमा कक्षा ४ देखि १० सम्मका ८ सय ७६ जना विद्यार्थी मध्यमा ८६ प्रतिशत विद्यार्थीले नेता छनोटका लागि मतदान गरेको विद्यालयका प्रधानध्यापक बिनोद सुवेदीले बताए । विद्यालयमा असल नेतृत्व चयन गर्न विद्यार्थी आफैं जागरुक रहेको र आफ्ना कुराहरुको सुनुवाइका लागि पनि निर्वाचनका माध्यमले नेता छनोट गरिएको प्रधानाध्यापक सुवेदीले बताए ।

विद्यालयका विभिन्न ईकाईमा विद्यार्थी नेता छनोटका लागि निर्वाचन भएको हो । विद्यालय क्याप्टेन र भाइस–क्याप्टेनसहित विभिन्न सदन र क्लबका क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन गरिएको हो । बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतदानमा धेरै भन्दा धेरै विद्यार्थी सक्रिय सहभागी भएको र निकै उत्साहजनक भएको विद्यालयका प्रमुख निर्वाचनअधिकृत उमेश अर्यालले जानकारी दिए ।

निर्वाचनमा कक्षा ६ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको उनले बताए । विद्यालयका विविध क्रियाकलापमा विद्यार्थीको सहभागिता सुनिश्चित गर्न तथा विद्यार्थीमा नेतृत्व विकास, प्रजातान्त्रिक अभ्यासको विषयमा अवगत गराउने उद्देश्यले बालजागृतिले २०७४ सालदेखि निर्वाचनको अभ्यास गराउँदै आएको छ । निर्वाचनबाट १८ जना विद्यार्थी प्रतिनिधि छनोट गरिएको छ । विद्यार्थी निर्वाचन कार्यक्रममा शिक्षकहरुले सहजीकरण गरेका थिए । विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी र अभिभावकले निर्वाचन कार्यक्रमको पर्यवेक्षण तथा अवलोकन गरेका थिए । निर्वाचनको मतपरिणाम आएपछि अपरान्ह ६ बजे घोषणासभा गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिना, संचालक समिति अध्यक्ष दिनेश भण्डारी, विद्यालयका प्रबन्ध निर्देशक मोहनप्रसाद शर्मा, संचालक गीतादेबी पौडेललगायत सहभागी थिए ।

स्कूल क्याप्टेन रोजन मैनाली, भाइस क्याप्टेन दीपिका लम्साल, रेड हाउस क्याप्टेन प्रतीक दाहाल, रेड हाउस भाइस क्याप्टेन अनुज्ञा बिडारी, एलो हाउस क्याप्टेन अमिश दाहाल, एलो हाउस भाइस क्याप्टेन प्रसिद्धि केसी, ग्रीन हाउस क्याप्टेन अस्मिता थिङ, ग्रिन हाउस भाइस क्याप्टेन प्रियाँशु सिंह, ब्लु हाउस क्याप्टेन सहर्षा गौतम, ब्लु हाउस भाइस क्याप्टेन दीपेक्षा न्यौपाने चयन भएका छन् । इको क्लब क्याप्टेन आर्यन खड्का, भाइस क्याप्टेन सौरभी हुमागाई, लिट्रेचर क्लब क्याप्टेन गन्तब्यराज पौडेल, भाइस क्याप्टेन सदीक्षा हुमागाई, फाइन आर्टस् क्लब क्याप्टेन श्रेयाशी गौतम, भाइस क्याप्टेन अंजनप्रसाद यादव, स्पोर्टस् क्लब क्याप्टेन साइमन उप्रेती, भाईस क्याप्टेन सुवास्टिन महत निर्वाचित भएका छन् ।बिजेता उमेद्वारलाई विब्यस अध्यक्ष तिमल्सिना, संचालक समिति अध्यक्ष भण्डारी र प्रबन्ध निर्देशक शर्माले खादा लगाएर स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*