हेटौंडामा झलनाथले भने, ‘समाजवादको कुरा नगरे टिक्दैन’

साझाकुरा
२०८१ जेष्ठ २७, आईतवार ११:४५

हेटौंडा-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादको बाटोमा अघि नबढे एमाले पनि टिक्न नसक्ने टिप्पणी गरेका छन् ।हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको उनको भनाई थियो । ‘समाजवादी कार्यक्रम अब हामी महाधिवेशन मार्फत् कार्यपद्दति ल्याउँछौं । एमालेले अहिले पनि जबज भनिरहेको छ । तर, अरु पार्टीले समाजवादी कुरा गरिरहेका छन् । एमालेले पनि कुनै समयबाट समाजवादको कुरा गर्नुको विकल्प छैन । समाजवादको कुरा गर्दैन भने एमाले टिक्दैन । त्यो कुरा एमालेले बुझे हुन्छ ।,’ उनले पूँजीवादी व्यवस्थाको कारणले जनतालाई ठीक ढंगले अघि बढाउन नसकेको उनको भनाइ छ ।

नेता खनालले नेपालमा पुँजीवादी क्रान्ति सकिएकाले अब समाजवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्ने बताए । नेता खनालले देशमा अब समाजवादी क्रान्ति आवश्यक भएकाले यस दिशामा आफ्नो पार्टी अगाडि बढ्ने बताए । ‘हामी महाधिवेशनको तयारीमा छौं । महाधिवेशनले समाजवादी कार्यक्रमहरु अगाडि सारेर जानेछ,’ खनालले भने, ‘अब सबै दलले समाजवादको एजेन्डालाई अघि सार्नुपर्छ,’ ।उनले जनताको बहुदलीय जनवाद अन्तर्गतका कार्यक्रमको सान्दर्भिकता सकिएको बताउँदै एमाले पनि समाजवादको एजेन्डामा आउनुपर्ने बताए । झन्डै दुईतिहाई जनमत पाएको तत्कालीन नेकपाको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघठन गरेर जनताको आकांक्षा पूरा गर्ने अवसर गुमाएको उल्लेख गरे ।

नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी हाबी हुँदै गएको बताए । कम्युनिष्ट नेताहरुमा सैद्धान्तिक र राजनीतिक विचलनहरु प्रकट भएको उनको भनाई छ । राष्ट्रमा सामन्तवादी शोषण अन्त्य भएपनि पुँजीवादी शोषण भने भयावह रुपमा फैलिरहेको दावी गरे । पुँजीवादले सामाजिक विभेद र भ्रष्टचारलाई संरक्षण गर्दै विस्तार गर्ने भएकोले समाजवादको स्थापना अनिवार्य नै भएको नेता खनालको भनाई छ । नेता खनालले आफूहरुले नेकपा एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न अझै पनि बाँकी रहेको बताए ।

खनालले नेपाललाई अमेरिकाले चीनविरुद्ध प्रयोग गर्न खोजेको बताए । चीनलाई ध्वस्त पार्नकै लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको उनको भनाई छ । एसपीपीमार्फत् नेपाललाई सैनिक अखाडा बनाउन अमेरिकी शक्तिहरु अझै तल्लिन रहेको उनको आरोप छ । नेता खनालले अमेरिकी साम्राज्यवादीको शक्तिहरु समाप्त भइनसके पनि विस्तार कमजोर हुँदै गएको बताए ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् पार्टी बागमती प्रदेश कमिटीका सहइन्चार्ज ललितकुमार बस्नेत, पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा पार्टी कानून विभागका प्रमुख घनप्रसाद गौतम, पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य एवम् पार्टी मकवानपुर सहइन्चार्ज राजाराम स्याङतान, पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दहाललगायतको आतिथ्यता थियो । अधिवेशन पार्टी नगरकमिटी अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको थियो ।

नगरकमिटी अध्यक्षमा विष्णुमायाएकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् । शनिवार सम्पन्न प्रथम नगरअधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरेको हो ।कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् । अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एघार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन् ।

सम्मानित हुनेमा घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिलाकुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर रानामगर रहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको विकासका लागि योगदान पु¥याएको प्रति उनीहरुलाई सम्मान गरिएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटीका सचिव सफल अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*