बकैयामा करार शिक्षक छनोट परीक्षा
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयास सुरु गरेको छ । करार भर्ना गरिने शिक्षक छनोटका लागि पहिलोपटक खुला प्रतिस्पर्धा गराएर पालिकाले शिक्षामा गुणस्तरीयताका लागि प्रयासको थालनी गरेको हो ।करार सूचीमा सूचीकृत गर्न करार शिक्षक छनोटको क्रममा आवेदन दिएकाको शुक्रबार परीक्षा सञ्चालन गरिएको हो । विभिन्न विषयमा माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहमा करार शिक्षकका लागि आवेदन दिएका परीक्षामा सहभागी भएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।
करार शिक्षकका लागि करार सूचीमा सूचीकृत हुन भन्दै ४४१ जनाले आवेदन दिएका थिए । शिक्षक भर्ना गर्ने समयमा भनसुन हुने र आफ्नालाई राख्न दबाब आउने गरेको बताउँदै अध्यापन गराउने समयमा कमजोर हुँदा विद्यार्थीको शैक्षिकस्तर खस्कँदै गएपछि गुणस्तरीय शिक्षकको खोजीमा करारमा भर्ना गरिने शिक्षकको खुला प्रतिस्पर्धाबाट परीक्षा सञ्चालन गरिएको बताए । उनले पहिलोपटक गरिएको यो अभ्यासले पालिकाको शिक्षामा गुणस्तरीयता ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
गाउँपालिकाको करार शिक्षक छनोट कार्यविधि २०६० बनाएर करार सूचीमा सूचीकृत गर्ने प्रयोजनार्थ करार शिक्षक छनोट प्रक्रिया सुरु गरेको हो । लिखित परीक्षामा उत्तीर्ण भएकाको मौखिक परीक्षापछि उत्तीर्ण भएकामध्ये पालिकाका विभिन्न विद्यालयमा रिक्त रहेका २० भन्दा बढी दरबन्दीमा नियुक्ति दिने पालिकाले तयारीगरेको छ । पालिकाले करार सूचीमा सूचीकृत गर्न विभिन्न तहका गरी १७० शिक्षक माग गरेको थियो । गाउँपालिकामा हाल ७२ वटा सामुदायिक विद्यालय छन् ।