हेटौंडा अस्पताल कब्जा गर्न लागेको भन्दै सर्बत्र आलोचना

अस्पतालको कर्मचारीद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्ष
साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:३०

हेटौंडा-हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत नराखी छुट्टै सञ्चालन गर्नुपर्नेमा चर्चा चुलिएको छ । मकवानपुरमा क्रियाशील राजनीतिक दलले बारम्बार बिरोध गर्दा पनि प्रतिष्ठानपक्षले एकलौटी ब्यवहार गर्दै गएका छन् ।केहीदिन अघिमात्र हेटौंडा अस्पतालका निर्देशक डा. श्रीधर अर्यालको संयोजकत्वमा अस्पतालका सबै कर्मचारीको बैठक बसेको थियो । छलफलमा प्रतिष्ठानले हेटौंडा अस्पतालको आर्थिक एबम् प्रशासनिक अधिकारमाथि गैरकानूनी ढंगले हस्तक्षेप तथा अतिक्रमण गरेको विषयमा तीब्र बिरोध भएको थियो । डा. अर्यालको संयोजकत्वमा हेटौंडा असपतालका सरकारी दर्बन्दीका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, विकास समितिअन्तरगतका कर्मचारीहरुले प्रतिष्ठानको कार्यशैलीप्रति मुख्यमन्त्री, मन्त्रिपरिषदको कार्यालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत निकायलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ । साझाकुरालाई प्राप्त निर्णयप्रतिलिपिअनुसार हेटौंडा अस्पतालमा प्रतिष्ठानले संचालन गरिरहेको आर्थिक तथा प्रशासनिक शाखालाई हेटौंडा अस्पतालबाट हटाउने र हेटौंडा अस्पताललाई स्वायत्त रुपमा संचालन गर्ने ब्यवस्था मिलाउन आग्रह गर्ने निर्णय भएको छ । हेटौंडा अस्पतालको खाता करारमा नियुक्त भएका प्रतिष्ठानका कर्मचारीबाट गराएर प्रतिष्ठानले गैरकारनूनी काम गरिरहेको छ ।

सरकारले तोकेको मापदण्डमा स्थायी नियुक्ति भएका कर्मचारीलाई जिम्मेवारीबाट अलग गरेर प्रतिष्ठानले करारमा नियुक्ति गरेका निर्देशक, लेखाअधिकृतबाट अस्पतालको खाता संचालन गरी कानूनको अपब्याख्या गरिएको छ । प्रतिष्ठानले शिक्षण सिकाइका लागि हेटौंडा अस्पताललाई प्रयोग गर्न समस्या थिएन । तर, राजनीति शक्तिका आडमा सरकारी अस्पताललाई कब्जा गर्ने शैलीको मकवानपुरका राजनीतिक दलहरुले पनि बिरोध गरिरहेका छन् ।

बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत गाभ्ने निर्णय गरेसँगै त्यसको विरुद्धमा क्रियाशील राजनीतिक दलले हेटौंडा अस्पताललाई छुट्टै राख्न माग
गरिरहेका छन् । हेटौंडामा राजनीतिक दलको भेलाले जिल्लाको गौरवको रुपमा रहेको हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत नराख्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको हो । राजनीतिक दलको भेलाले हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत लैजाने गरी बनाएको ऐन संशोधन गरी हेटौंडा अस्पतालमा नगाभ्न माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी
दिए । हेटौंडा अस्पताललाई स्वायत्तरुपमा सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका लागि आवश्यक अस्पताल छुट्टै स्थापना नभएसम्मका लागि शिक्षण सिकाइ अभ्यासका लागि प्रयोग गर्न सकिने नेपाली कांग्रेसका सचिव भीमसेन महतले बताए । प्रतिष्ठानलाई उद्देश्य अनुसार प्रभावकारी रुपमा सञ्चालन गर्न माग गर्ने दलहरुले निर्णय गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइटेल, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (माओवादी केन्द्र)का वीरबहादुर घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाकी गीता सापकोटा, नेकपा मकवानपुरका जिल्ला इञ्चार्ज राम सी, जनता समाजवादी नेपाल मकवानपुरका अध्यक्ष सोम घलान, नेपाल समाजवादी पार्टी मकवानपुरका अध्यक्ष राजकुमार भेटवाललगायतले बिरोध गरेका छन् ।

यसअघि कांग्रेस मकवानपुरले कांग्रेसबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यसँग छलफल आयोजना गरी अस्पताललाई प्रतिष्ठानमा गाभ्ने निर्णय गलत भएको भन्दै ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठान स्थापना गरेर प्रदेश र मकवानपुरको विकासमा योगदान दिने कामको स्वागतयोग्य भएपनि हेटौंडा अस्पतालाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द नगरे सडक र प्रदेशसभामा समेत आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको थियो । नेपाल तरुण दल मकवानपुरले हेटौंडा अस्पतालको अस्तित्व नमेटाउन आग्रह गर्दै आएको छ । अस्पताललाई बागमती प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी अगाडि बढाएसँगै तरुण दलले विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

दलका प्रतिनिधिको हस्ताक्षरसहित शनिवार विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले अस्पताल प्रतिष्ठानमा गाम्नका लागि अगाडि बढाएको प्रक्रिया रोक्न माग गरेको छ । मकवानपुरमा क्रियाशील राजनीतिक दलले प्रदेश सरकारको बिरोध गरेका छन् । २०६२–६३ को जनआन्दोलन सफलतासँगै त्यसले निर्दिष्ट गरेको कार्यदिशा र संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक यात्रामा देश अघि बढिरहेको अवस्थामा प्रदेश सरकारको कार्यशैलीको बिरोध गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*