हेटौंडा नगरमा गर्मी छुट्टी, मनहरीमा विहानी कक्षा

साझाकुरा
२०८१ जेष्ठ ३१, बिहीबार १२:०८

हेटौंडा- अत्यधिक गर्मी बढेर जनजीवन अस्त व्यस्त भएपछि हेटौंडा उपमहानगरपालिकाले शिक्षण संस्थाहरुमा दुई दिनका लागि विदा दिएको छ ।बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै अभिभावकले बिदा दिन अनुरोध गरेपछि हेटौंडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते सामुदायिक र संस्थागत विद्यालय बन्द रहने निर्णय गरेको हो । बुधबार हेटौंडा उपमहानगर शिक्षा निर्देशक सीताराम कोइरालाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थी विरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध आएपछि बर्षे विदाबाट कट्टी हुने गरी जेठ ३१ र ३२ गते विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

मनहरी गाउँपालिकामा भने बिहानी कक्षा संचालन गरिएको छ । सोमबार गाउँ शिक्षा समितिले विद्यालयको परिस्थिति हेरेर निर्णय गर्ने अधिकार विद्यालय ब्यवस्थापन समितिलाई दिने निर्णय गरेको थियो । अधिकांंश विद्यालयले बुधबारदेखि अर्को ब्यवस्था नभएसम्मका लागि विहानी कक्षा संचालन गर्ने निर्णय गरेका छन् । मनहरी–४ वडा कार्यालयले बिहानी कक्षा संचालन गर्न विद्यालयलाई पत्राचार गरेपछि बुधबारबाट बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा संचालन गरिएको पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए ।

मकवानपुरको थाहा नगरपालिका, भीमफेदी, ईन्द्रसरोवर, कैलाश, मकवानपुरगढी, राक्सिराङ लगायत गाउँपालिकाले दिउँसोको समयमा नै कक्षा संचालन गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले बताए । स्थानीय तहमा माध्यमिक तहको शिक्षाको अधिकार भएकाले समय र परिस्थिति अनुकूल निर्णय गर्न सक्ने जिसस प्रमुख घलानले जानकारी दिए । यसैगरी बकैया–५ ले पनि वर्षेबिदाबाट कट्टा हुनेगरी जेठ ३१ र ३२ गते दुई दिन विद्यालय छुट्टी दिने निर्णय गरेको छ । बकैया गाउँपालिका ५ नं. वडाअध्यक्ष लक्ष्मी जिम्बाले सूचना प्रकाशन गरी गर्मी चर्को भएका कारण विद्यालयमा पठनपाठन गर्न गराउन असहज भएकोले वर्षेबिदामा मिलान गर्ने गरी हाललाई २ दिन विद्यालय बिदा गर्ने जानकारी दिएकी छन् । मकवानपुरको धेरै गर्मी हुने बागमती, बकैया, मनहरी गाउँपालिका र हेटौंडा नगरपालिका हो ।

२०७२ को बिनाशकारी भुकम्प पछिका दिनमा विद्यालय भवन राम्रो बनेको भएपनि विद्युत नियमित हुन नसक्दा विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको छ । कतिपय विद्यालयमा विद्युत सुबिधा उपलब्ध हुन सकेको छैन । भएका कतिपय विद्यालयले विद्युत महशुल बुझाउन नसकेका कारण लाइन काटिएको अवस्था छ । विद्युत सुबिधा उपलब्ध भएका विद्यालयमा पनि एउटा कक्षा कोठामा बढीमा दुईवटा पंखा राखिएका कारण पर्याप्त हुन सकेको छैन ।

शिक्षक दर्बन्दी अभावका कारण एउटै कक्षामा ९६ जना विद्यार्थी राखेर पढाउनु पर्दा पंखाले खासै काम नगर्ने मनहरी–४ स्थित पशुपतिनाथ माविका प्रअ आचार्य बताउँछन् । कक्षा ६ मा ८८ जना, ७ मा ९६ जना राखेर पठनपाठन गरिएको प्रअ आचार्यले बताए । कक्षा ८ मा ९० जना विद्यार्थीलाई जसोतसो सेक्सन बिभाजन गरिएको भएपनि ६ र ७ मा सेक्सन बिभाजन गर्न नसकेका कारण कक्षाकोठामा पस्नै नसक्ने अवस्था रहेको उनले बताए ।

बिहानैदेखि चर्को घाम लाग्ने र दिनभर कक्षाकोठामा पनि आलस्य हुने अवस्था रहेको विद्यार्थीहरुले बताएका छन् । मनहरी गाउँपालिकाले विहानी कक्षा संचालन गर्ने अधिकार विद्यालयलाई नै दिएपछि विद्यालयहरु बिहानको समयमा खुल्न थालेका छन् । नेपालको पूर्बी क्षेत्रबाट मनसुन प्रबेश गरेको मनसुनबिद्हरुले बताएको भएपनि नियमित पानी पर्ने अवस्था अझै केही समयसम्म नदेखएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*