बागमती प्रदेशसभा बैठक असार ३२ गते बस्ने

साझाकुरा
२०८१ जेष्ठ ३१, बिहीबार १२:१०

हेटौंडा- बागमती प्रदेशसभा बैठक पर्सी जेठ ३२ गते शुक्रबारका दिन अपरान्ह ३ बजे बस्न आब्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । शुक्रबार बस्ने पूर्णबैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारका तर्फबाट चालु आर्थिक वर्षको आर्थिक सर्बेक्षणको प्रस्ताव पेश गर्ने भएका छन् । प्रदेशसभाका सचिव पूर्णबहादुर दर्जीले दिएको जानकारी अनुसार प्रदेश सभाबाट आर्थिक सर्भेक्षण प्रस्ताव पारित भएपछि आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने बाटो खुल्नेछ ।

यसअघि जेठ ३२ गते शुक्रबार मध्यान्ह १२ बजे संसदको कार्यपरामर्श ब्यवस्थापन समितिको बैठक बसी आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि असार १ गते शनिबार प्रदेशसभामा बजेट सार्वजनिक गर्ने प्रदेशसभा सचिवालयका प्रमुखसचिव कृष्णहरि खड्काले बताए । सोही बैठकमा असार १ गते प्रदेश सभामा प्रतुत हुने बजेटको छलफलका लागि समयतालिका निर्धारण गर्ने कार्यसूची रहेको प्रमुखसचिव खड्काले जानकारी दिए ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सरकारको बजेट सार्वजनिक गर्नका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान गरेका हुन् । बजेट प्रस्तुत भएलगत्तै संसदमा सरकारको आगामी आर्थिक वर्षको अर्थ सम्बन्धी विधेयक पेश हुने र केही दिनपछि बस्ने प्रदेशसभाको बैठकमा विधेयक माथि सांसदहरुले छलफल सहित संशोधन राख्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको बताइएको छ । सांसद विकास कोष खारेज भएपछि बजेटमा सन्तुलन कायम गर्न सरकारले प्रत्येक सांसदहरुको ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । बजेट संसदको बैठकबाट सार्वजनिक गर्ने तयारी अनुसार असार १ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*