सिद्धार्थ माविमा निर्वाचनबाट विद्यालय र सदनको नेतृत्व चयन

साझाकुरा
२०८१ असार ९, शनिबार ११:०५

हेटौंडा- हेटौंडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह–क्याप्टेन, सदन क्याप्टेन र सह–क्याप्टेनको नेतृत्व चयनका लागि निर्वाचन भएको छ ।विद्यार्थीलाई मतदाता शिक्षा र प्रयोगात्मक अभ्यासका लागि शुक्रबार विद्यालय क्याप्टेन, सह–क्याप्टेन, सदन क्याप्टेन र सह–क्याप्टेनको चयन निर्वाचन प्रणालीबाट गरिएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय क्याप्टेनमा ३६५ मतसहित युवराज पण्डित निर्वाचित भएका छन् । ३५८ मतसहित सुमान राय विद्यालय सह–क्याप्टेनमा निर्वाचित भएका छन् । त्यसैगरी सम्पन्न निर्वाचन मार्फत् ६ वटा सदनमा क्याप्टेन र सह–क्याप्टेन गरी १२ जना निर्वाचित भएका छन् ।

सदनगत क्याप्टेनमा निलो सदनमा ८९ मतसहित कृष्ण यादव, सह–क्याप्टेनमा ७१ मतसहित सुबोध साह निर्वाचित भएका छन् । हरियो सदनमा ९० मतसहित उन्नति अर्याल, सह–क्याप्टेनमा ६७ मतसहित सन्ध्या सापकोटा निर्वाचित भएका छन् । सुन्तला सदनमा ५६ मतसहित निखिल सिंह सदन क्याप्टेन र ६० मतसहित दीपा न्यौपाने सहयाप्टेनमा विजयी भएका छन् ।

पहेँलो सदनमा ६३ मतसहित सदन क्याप्टेनमा निर्मला सिर्मल र सह–क्याप्टेनमा ७७ मत सहित सफलता लामा विजयी भएकी छिन् ।त्यसैगरी प्याजी सदनमा ८७ मतसहित क्याप्टेनमा कन्हैया कुमार यादव र ८५ मतसहित सह–क्याप्टेनमा स्तोत्र लामिछाने निर्वाचित भएका छन् । रातो सदनको क्याप्टेनको नेतृत्व उज्वल पटेललो गरेको छन् । पटेलले ७८ मत प्राप्त गरेको थिए । त्यसैगरी रातो सदनको सह–क्याप्टेनमा अनुज पौडेल विजयी भएका छन् । पौडेलले सर्वाधिक ९५ मत प्राप्त गरेका थिए ।

आमनिर्वाचनकै झल्को दिनेगरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदानअधिकृत टीकाप्रसाद दाहालले बताए ।कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । कक्षा ६ देखि १० सम्मका अंग्रेजी र नेपाली माध्यममा अध्ययनरत ६ सय ७० जना विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडाले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदान प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्यतालिका सार्वजनिक गरेको सहायक प्रअ तथा सहायक मतदानअधिकृत खेमराज लामिछानेले जानकारी दिए ।सदन संयोजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो । विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, पत्रकार, मातहतका कार्यालय प्रमुख र अभिभावकलाई पर्यवेक्षक बनाइएको थियो । विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत दाहालले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम घिमिरेले विद्यालय आयोजना गरिएको कार्यक्रमले मतदान प्रक्रियाको बारेमा जानकारी दिएको र विद्यार्थी नेतृत्व विद्यार्थी स्वयमले गर्न पाउनु लोकतान्त्रिक अभ्यास भएको बताएका छन् । निर्वाचनको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनुगमन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*