बागमती प्रदेशमा ५१ प्रतिशत बजेट मात्र खर्च

भानुभक्त आचार्य
२०८१ असार १४, बिहीबार १२:५१

हेटौंडा- बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन गरेको बजेटको ५१ प्रतिशत मात्र गएको जेठ महिनासम्ममा खर्चगरेको पाइएको छ ।चालु आव सकिन एक महिना बाँकी हुँदा प्रदेश सरकारको ३२ अर्ब २९ करोड ८१ लाख ८१ हजार ४५३ रुपैयाँ अर्थात् ५१.५१ प्रतिशत खर्च भएको हो । यो समयमा भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च जम्मा ५३ प्रतिशत मात्र रहेको छ । सामाजिक विकास मन्त्रालयको खर्च ५४ प्रतिशत भएको छ भने वन तथा वातावरण मन्त्रालयको खर्च ५० प्रतिशत मात्रै भएको मन्त्रालयको सूचनामा देखिन्छ । स्वास्थ्य मत्रालयको बजेट खर्च जेठ मसान्तसम्ममा ५८ प्रतिशत भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयको ४३ प्रतिशत खर्च भएको देखिन्छ ।

प्रदेश सरकारले चालु आवका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा गत वैशाख मसान्तसम्ममा ४१ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशत भन्दा कम खर्च भएको थियो । प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कुल बजेटको ४१.२६ प्रतिशत अर्थात् २५ अर्ब ८७ करोड ६१ लाख १० हजार ८५३ रुपैयाँ खर्च गरेको थियो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट खर्च ३४ प्रतिशत भन्दा माथि जान सकेको छैन । हाम्रो उब्जाउ हुने खेत, पाखोबारी बाँझै राख्ने र भारतीय मुलुकबाट तरकारी, खाद्यान्न, फलफूल, दलहन, तेलहन सबै आयात गर्ने प्रबृत्तिको विकास भएको छ । आफ्नै उत्पादनले छाक टार्नेपरिवारको संख्या न्यून बन्दै गएको अवस्थामा कृषिक्रान्तिका जति ठूला नारा लगाएपनि सरकारको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । कृषिप्रधान मुलुकको अवस्था परिवर्तन गर्ने भन्दा पनि भारतीय उत्पादन उपभोग गर्ने नीति अवलम्बन भएको देखिन्छ ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको बजेट खर्च ४३ प्रतिशत मात्र प्रगति भएको देखिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको खर्च ४० प्रतिशत मात्र भएको छ । खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको खर्च ५३ प्रतिशत भएको देखिन्छ । असार लागेपछि रातारात बजेट खर्च गर्ने पुरानै प्रबृत्ति हरेक वर्ष दोहोरिने गरेको छ । समयमा गुणस्तरीय काम गर्ने भन्दा पनि वर्ष भरि चुपचाप बस्ने रअसार लागेपछि हतारहतार काम गर्ने पुरानै प्रबृत्तिबाट प्रदेश सरकार पनि अछुतो रहन सकेको छैन ।

चालु आवका लागि चालुतर्फ २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गत जेठ महिनासम्ममा पुँजीगततर्फ ५०.३१ प्रतिशत चालुतर्फ ५४.११ प्रतिशत खर्च भएको जनाएको छ । गत वैशाख महिनासम्ममा पुँजीगततर्फ ३८.३८ प्रतिशत, चालुतर्फ ४५.९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्च अनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको छ ।

काम सम्पन्न भएका योजनाको बिल भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ । समीक्षा अवधिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको खर्च जम्माजम्मी १० प्रतिशत मात्र भएको देखिन्छ । यसो हुनुमा बजेट बनाउने र बजेट खर्च गर्ने दुबैपक्षको दोष रहेको बिज्ञहरुले बताएका छन् । खर्च गर्ने नसक्ने बजेट बनाउने पनि दोषी हुने र बनाएको बजेट समयमा खर्च नगरी असार लागेपछि हताहतारमा खर्च गर्ने प्रबृत्ति दुबै दोषी भएको बिज्ञहरुको टिप्पणी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*