राक्सिराङका ७० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

साझाकुरा
२०८१ असार १८, सोमबार ११:३२

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा मोतियाबिन्दु लागेका ७० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो । चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालय परिसरमा आइतबार भएको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतिबिन्दु बिरामी ९५ वर्षीया मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया कार्यको सुरुवात गरिएको थियो । शिविरमा ५ सय ७८ जनाको आँखाको परीक्षण गरिएको थियो भने ८५ जनाको मोतियाबिन्दु फेला परेको थियो । सम्पर्कमा आएको ७० जनाको शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक डा.सुशीलकुमार सिंहले जानकारी दिए ।

हेटौंडा आँखा अस्पतालका ११ जना विशेषज्ञ चिकित्सकको सहभागितामा मोतिबिन्दुको शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डा. सिंहले बताए । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र राक्सिराङ गाउँपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा शिविर गत असार १२ देखि १५ गतेसम्म सञ्चालन भएको गाउँपालिका अध्यक्ष मल्लले बताए । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, डा. नवीन दर्नाल, राक्सिराङ आधारभूत अस्पतालका डाक्टर मेगनेहर श्रेष्ठ, हेटौंडा सामुदायिक आँखा अस्पतालका डा. सिंहलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*