बागमतीमा पहिलोपटक नेतृत्व गर्ने अवसर कुर्दै कांग्रेस

साझाकुरा
२०८१ असार २१, बिहीबार १२:३३

हेटौंडा-नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा संघीय सरकार बन्ने चर्चासँगै बागमती प्रदेशको नेतृत्वको अवसर नेपाली कांग्रेसले पाउने सम्भावना बढेको छ । पछिल्लो राष्ट्रिय राजनीतिले लिएको ‘यु टर्न’ बाट बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको सत्तासमिकिरण संकटमा परेको छ । केन्द्रमा एमाले–कांग्रेस गठबन्धनको सहमतिको चर्चाले प्रदेश सरकारको दिनगन्ती सुरु भएको छ । केन्द्रमा बनेको एमाले–कांग्रेस सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । राष्ट्रिय राजनीतिको घटनाक्रमले बागमतीमा पहिलोपटक नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना देखिएको हो । कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षमा छ । २ कार्यकालको ७ वर्षे अवधिमा कांग्रेस २६ महिनामात्र सरकारमा रहेको थियो । पछिल्लो ७ वर्षको अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्षमा चित्त बुझाउन बाध्य भएको कांग्रेस करिव २ वर्ष सत्तासाझेदार बन्यो ।

२०७८ कात्तिकमा सत्तासाझेदार बनेको कांग्रेसले नेतृत्व भने पाउन सकेको थिएन । २०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले बागमती सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्री त्यागेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि नेतृत्व पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा फेरि सरकारमा फर्कियो ।११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् । बागमती प्रदेशमा सामान्य बहुमतका लागि कम्तिमा ५६ सांसदको समर्थन चाहिन्छ । एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने हो भने स्पष्ट बहुमत हुने देखिन्छ ।

एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन्, जुन सरकार गठनका लागि पर्याप्त हुन्छ । एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भयो । यो पटक पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दियो ।एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्रकै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सत्तासाझेदारी हुँदा कांग्रेस प्रमुखप्रतिपक्षको भूमिकामा बस्यो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले केन्द्र सरकारको समीकरण टु·िएपछि प्रदेशको समीकरणबारे निर्णय हुने बताएका छन् । सत्तासमीकरण र भागबण्डाको विषयमा शीर्ष नेताहरुले जेजस्ता निर्णय गर्छन अक्षरसः पालना गर्नुको बिकल्प पनि प्रदेशमा छैन । सरकार गठन र व्यवस्थापनका विषयमा प्रधानमन्त्री नियुक्ति भएपछि मात्र प्रदेश तहको छलफल अघि बढ्ने छ ।‘अहिले प्रक्रियागत विषयमा सहमति पछिको समिकरण अनुसार प्रधानमन्त्री नियुक्तिको विषय नै बाँकी छ । पहिले प्रधानमन्त्री नियुक्ति नै प्राथमिकताको विषय होला । यसपछि प्रदेश सरकारको विषयमा छलफल तथा निर्णय हुनेछ,’ नेता लामाले भने । ‘प्रदेश सरकारमा सबै दललाई समेट्ने प्रयत्न नेपाली कांग्रेसको रहने’ बताउँदै नेता लामाले भने ‘सत्तासाझेदार दलहरुसँग छलफल गरेर निर्णय गर्छौं ।’

कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार नागरिकको सरकारको रुपमा स्थापित गर्न प्रदेश सरकारले काम गर्नुपर्ने अवस्था छ । समीकरण र अंकगणित भन्दा पनि नागरिकको अपेक्षा र आवश्यकता पूरा गर्नुपर्ने परिस्थिति रहेको उनले बताए । सत्तासमीकरणमा मुद्दा र एजेण्डामा सहमत हुने दलहरुलाई समेटेर अघि बढ्न समस्या नरहेको उनको भनाइ छ । सत्तासमीकरण परिवर्तनपछि केन्द्र सरकार निर्माण नै पहिलो प्राथमिकता रहेको र सत्तासाझेदार दलसँग छलफल गरेर सहमतिको साझा बिन्दु तयार हुने चित्रकारले बताए । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुन नसक्ने आशयको प्रतिक्रिया दिएका छन् । मन्त्री दुलालले संविधान संशोधनका लागि आमनागरिकलाई प्रतिनिधित्व गर्ने राजनीति दलको समर्थन चाहिने बताएका छन् । मन्त्री दुलालले बहुमत जता हुन्छ उसैले सरकार चलाउने बताउँदै यसमा माओवादी केन्द्रको कुनै आपत्ति हुने कुरा नभएको धारणा ब्यक्त गरे ।

तेस्रो दल भएर डेढ वर्ष सरकारको नेतृत्व गर्नु पनि राजनीतिक पहल तथा राज्यप्रतिको जिम्मेवारी रहेको विषय नागरिकले कहिल्यै नभुल्ने उनको दाबी छ । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेलले गरेका छन् । मुख्यमन्त्री रहेका उनले सरकार फेरबदलको विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको बागमतीमा मुख्यमन्त्रीसहित माओवादीका ४ मन्त्री छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*