थाहाकी चिनीमायाँलाई सहयोग जुट्दै

साझाकुरा
२०८१ असार २२, शुक्रबार १२:०५

हेटौंडा- थाहा नगरपालिका–४ मा रहेकी आर्थिक अवस्था कमाजोर भएकी चिनीमायाँ नेपालीलाई डकुड्रामा ‘हामी छौ’ टोलीले सहयोग गर्ने भएको छ ।चिनीमायाँ एकल महिला हुन् । लुगा सिलाउने कामबाट दैनिक गुजारा गर्दै आएकी उनको वि.सं. २०७२ सालको भूकम्पले घर पनि भत्किएपछि उनी थप पीडामा छिन् । उनले अझै घर बनाउन सकेकी छैनन्, भत्किएको घरको जगमै दुखजिलो बनाएकी सानो छाप्रोमा बस्दै आएकी छिन् । चिनीमैयालाई डकुड्रामा टोलीले १९असारमा सहयोगका लागि छनोट गरेको थियो ।डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतका अनुसार–डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्तिलाई सहयोगका लागि छनोट गरिनेछ । ‘वास्तविक जीवनमै पीडित व्यक्तिलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी छ,’ बस्नेतले भने । आर्थिकरुपमा पीडितलाई सहयोग गर्ने नै डकुड्रामाको उद्देश्य रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन् ।

डकुड्रामा निर्माण टिमले चिनीमायाँलाई २५ हजार नगदसहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरिसकेको छ । उनका लागि अब बैंक खातामा सहयोग रकम जम्मा हुने प्रस्तुतकर्ता शोभित बस्नेतले सुनाए । यसका लागि चिनीमायाँ नेपाली र थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामाको संयुक्त नाममा कामना सेवा विकास बैंकमा खाता समेत खोलिएको छ ।चलचित्र उद्योगमार्फत थाहानगरलाई प्रचारप्रसर समेत गर्दै आएका बस्नेतले सामाजिक सेवाका लागि पनि यहिँ ठाउँ रोजेको प्रतिक्रिया दिए । डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट सुरु गरेका बस्नेतले थपे, ‘थाहाकै अर्को एकजना अति विपन्नलाई पनि सहयोग गर्ने सोच छ ।,’ शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा रिलिज हुने जनाइएको छ । यो डकुड्रामा ७ भागको हुनेछ ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकी लगायत कलाकारको अभिनय छ । प्रस्तुतकर्ता बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन् । रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजीत बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*