मकवानपुरसहित ६ जिल्ला खेलकुद अध्यक्ष नियुक्त, मन्त्री मगरको असन्तुष्टि

साझाकुरा
२०८१ असार २७, बुधबार १२:२८

हेटौंडा- बागमती प्रदेश खेलकुद विकास परिषद्ले ६ जिल्लाको जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्तबारे विभागीय मन्त्रीले नै असन्तुष्टि जनाएकी छन् ।परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीको एकपक्षीय निर्णयबाट भएको नियुक्तमाथि प्रदेशको युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले असन्तुष्टि जनाउँदै नियुक्ति प्रक्रियामाथि छानबीन गर्ने बताएकी छन् । परिषद्ले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो ।चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन । मन्त्री मगरले बोर्डको बैठकको निर्णय नभई
भण्डारीको एकल निर्णयबाट ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको बताइन् । आफ्नो सहमतिबिना नै जिल्ला अध्यक्ष नियुक्त गरेको भन्दै असन्तुष्टि जनाएकी हुन् । ‘बोर्डले एकल निर्णयको अधिकार दिएर हो वा होइन बुझ्न बाँकी छ ।

सदस्यसचिवले एकल निर्णय गरेर नियुक्ति दिएका हुन्, त्यो निर्णय मान्दिन,’ मगरले भनिन् । मगरले अध्यक्ष नियुक्तिको निर्णय कार्यान्वयन नगर्ने बताइन् । भण्डारीले मंगलबार निर्णय गरेको र आजै उपलब्धहरुलाई नियुक्तिपत्र बाँडेको भन्दै कागजपत्र बुझ्ने व्यक्तिसँग बसेर थप छलफल गर्ने मगरको भनाई छ ।मंगलबार परिषद्को कार्यालयमा निर्णय गर्दैगर्दा भण्डारीसँग भेट भएको र निर्णयमा असहमति राख्दै निर्णय आफूले नमान्ने र कार्यान्वयन नगर्ने बताउँदै त्यहाँबाट बाहिरिएको मगरले बताइन् । ‘म आज निर्णय गर्दागर्दै पुगेको थिएँ । यसरी नियुक्त गर्नु ठीक होइन, म निर्णय मान्दिन, कार्यान्वयन गर्दिन भनेर त्यहाँबाट हिँडेको हुँ,’ उनले भनिन्, । ‘दुई चार दिन अगाडि नै मसँग नियुक्त गर्ने कुरा हुँदा मुख्यमन्त्रीसँग सल्लाह गरेर मात्रै गनुपर्छ भनेको थिएँ ।,’

जब की, भण्डारीको पाँच वर्षीय कार्यकाल २४ असार सोमबार सकिएको छ । कार्यकाल सकिएको भोलिपल्ट अर्थात आज मंगलबार उनले पुरानै मितिमा निर्णय गरेको मन्त्री मगरको भनाईबाट खुलेको छ । उनलाई तत्कालीन प्रदेश सरकारले २४ असार २०७६ मा सदस्यसचिव नियुक्त गरेको थियो । भण्डारीले भने २० असारमा अध्यक्षहरु नियुक्त गरेको जानकारी दिए । उनीसँग नियुक्ति प्रक्रियाबारे थप जानकारी लिन खोज्दा उनको फोन स्वीचअफ रहेकाले सम्पर्क हुन सकेन ।६ जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भागबण्डा गरेर अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ । परिषद्का सदस्यसचिव भण्डारीले ४ जिल्ला अध्यक्ष माओवादी केन्द्रलाई र २ जिल्ला अध्यक्ष एकीकृत समाजवादीलाई भागबण्डा लगाएर अध्यक्ष नियुक्त गरेको यसअघि बताएका थिए । परिषद्ले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइबा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाइ बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरेको हो ।

दलीय भागबण्डा अनुसार जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको सदस्यसचिव भण्डारीले स्वीकार गरे । काठमाडौं र सिन्धुली जिल्ला एकीकृत समाजवादीलाई भाग लगाएको र बाँकी जिल्ला माओवादीले लिएको उनले बताए । माओवादीले खेलकुद विकास समितिको अध्यक्ष लिएको जिल्ला धादिङ मुख्यमन्त्री शालिकराम जम्कट्टेल, मकवानपुर सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सिन्धुपाल्चोक भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको र काभ्रे मुख्यसचेतक रत्नप्रसाद ढकालको गृहजिल्ला हो ।‘अध्यक्षहरु दलीय भागबण्डा अनुसार नै नियुक्त हुने हो । अर्को सरकार आएपछि अध्यक्ष नियुक्त गर्दा विवाद हुने भएपछि हामीले अहिले नै ६ वटामा अध्यक्ष नियुक्त गरेका हौं’, भण्डारीले भने । अर्को सरकारलाई ७ वटा जिल्ला अध्यक्ष नियुक्त गर्ने बाटो राखिदिएको भण्डारीको भनाइ छ । ‘बाँकी जिल्ला अध्यक्ष अर्को सरकारले नियुक्त गरोस् । हामीले उहाँहरुलाई पनि छोडिदिएका छौं’, उनले भने । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि बागमतीमा पनि सरकार फेरबदल हुने सम्भावना छ ।

नवनियुक्त अध्यक्षहरुको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि दुई वर्ष अवधिको कार्यकाल सकिएर साढे ३ महिनाअघि १३ वटै जिल्ला अध्यक्ष बाहिरिएका थिए । परिषद्ले दुई महिना अगाडि मात्रै खेलकुद विकास नियमावली संशोधन गरेर जिल्ला खेलकुद विकास समिति अध्यक्षको कार्यकाल ४ वर्ष पु¥याएको थियो । प्रदेश खेलकुद विकास नियमावली, २०७६ को दोस्रो संशोधन गरेर कार्यकाल ४ वर्ष पु¥याइएको सदस्यसचिव भण्डारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*