विद्यार्थी, शिक्षकबीच पुलको काम गर्दै नवोदय ईनोभेसन

साझाकुरा
२०८१ असार २८, बिहीबार १४:१५

हेटौंडा- नवोदय इनोभेसन सेन्टर हेटौंडाले १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम सुरुवात गरेको छ । बालबालिकालाई समय सुहाउँदो शिक्षा प्रदान गर्न विश्व परिस्थिति र प्रविधिमा आएको विकासलाई पछ्याउँदै दक्ष जनशक्ति उत्पादन गर्न तालिम सुरुवात गरिएको हो ।आधारभूत तह (कक्षा ४–७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हेटौंडामा नवोदय इनोभेसन सेन्टरले कार्य तयारी गरिएको नवोदय इनोभेसन सेन्टरले जनाएको छ । १ वर्षे डिप्लोमा कोर्स सञ्चालन गरी कक्षा ४–७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । तालिममा सहभागी हुनेलाई उचित रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ ।

विद्यालयहरुले सक्षम शिक्षकको अभावमा चाहेजस्तो र अपरिहार्य शैक्षिक कार्यक्रम पस्कन नसकेको अवस्थालाई मध्यनजर गर्दै दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताइएको छ । कक्षाकोठा निरस हुनुका साथै विद्यार्थीका लागि अरुचिकर बनेका छन् । उनीहरुको सिकाइ अनुभवहरु रमाइला बन्न सकेका छैनन् । एकातिर हरेक स्कूलले प्रभावकारी शिक्षकको खोजी गरिरहेको छ

भने अर्कातिर शिक्षकको भूमिकामा काम गर्न चाहनेले राम्रो अवसर खोजी गरिरहेको अवस्थामा तालिम आयोजना गरिएको बताइएको छ ।बर्तमान आवश्यकतालाई मध्यनजर गर्दै जिम्मेवारीबोधका साथ नवोदय इनोभेसन सेन्टरको स्थापना भएको र समयको मागबमोजिम तालिम प्राप्त, प्रभावशाली र शिक्षण कौशलयुक्त शिक्षकको आवश्यकता परिपूर्ति गर्नका लागि हेटौंडामा १ वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको नवोदय इनोभेशन सेन्टरका प्रमुख नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए । प्रगतिशील शिक्षा, भाषा साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक शिक्षा, संगीत र कला, नृत्य, बालबालिकाको समग्र विकास, सिकाइ उपलब्धि जस्ता विषयमा प्रशिक्षार्थीलाई दक्ष बनाइने उनले बताए ।

तालिमका लागि शिक्षा दर्शनः प्रगतिशील शिक्षा, भाषा साहित्य शिक्षण, विज्ञान शिक्षण, सामाजिक अध्ययन शिक्षण, गणित शिक्षण, शारीरिक शिक्षा शिक्षण, संगीत र कला शिक्षण, नृत्य शिक्षण, बालबालिकाको समग्र विकास, सिकाइ उपलब्धी जस्ता विषय निर्धारण गरिएको छ । शैक्षिक रुपान्तरणका लागि लामो समयदेखि निरन्तर शिक्षण सिकाइ र शैक्षिक कर्ममा तल्लीन व्यक्तित्वहरु सम्मिलित सक्रिय समूहको नेतृत्व र व्यवस्थापनमा नवोदय इनोभेसन सेन्टर स्थापना भएको नगरकोटी बताउँछन् ।

बालबालिका केन्द्रित शिक्षण सिकाइलाई जीवन्त बनाउन आवश्यक सहजीकरण गर्दै विद्यालयमा शैक्षिक क्रान्तिको अनुभूति दिलाउन दत्तचित्त भएर लागिपर्ने प्रणका साथ नवोदय इनोभेसन सेन्टर अगाडि बढिरहेको जनाइएको छ । विशिष्ट आवश्यकताका आधारमा स्थानीयस्तरमा नै सम्भावना खोजी गर्दै सिकाइ वातावरण र विधि रुपान्तरण गरिने बताइएको छ । नवोदय विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरनबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले शिक्षाको गुणस्तरमा तीव्र विकासका लागि इनोभेसन कार्यक्रमको आवश्यकता रहेको औंल्याए ।

‘हाम्रा धेरै कार्यक्रममध्ये विद्यालयमा वार्षिक परामर्श प्याकेजमार्फत् हाल हामी १० वटा विद्यालयका कक्षाकोठाहरु परिवर्तन गर्न लागिपरेका छौं । जसअन्तगत हेटौंडामा २ वटा विद्यालयसँग काम गरिरहेका छौं । अनेकौँ चुनौतीबीच पनि कक्षाकोठामा आएको परिवर्तन नियाल्दा हामी अत्यन्त उत्साहित भएका छौं’ नवोदय ईनोभेसन सेन्टरले जारी बिज्ञप्तीमा भनेको छ । ‘आधारभूत तह (कक्षा ४–७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हामीले १ वर्षे डिप्लोमा कोर्स सञ्चालन गर्दैछौं’ सेन्टरका संचालक सीएम रिमालले बताए ।

यस कोर्सपश्चात् कक्षा ४–७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार हुनेछन् । साथै, तालिमप्राप्त सहभागीका लागि उचित रोजगारीको व्यवस्था गरिने बताइएको छ । शिक्षण पेशा एक आकर्षक र रोजाइको पेशा बन्न सघाउ पुग्नेछ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको रिमालले बताएका छन् । कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी जो भविष्यमा एक सफल शिक्षक बनेर हजारौं बालबालिकाको प्रेरणाको स्रोत बन्न चाहन्छन्, यस कार्यक्रममार्फत् उनीहरुका लागि सम्भावनाका ढोकाहरु खोल्न मद्दत पुग्ने बताइएको छ ।

प्रशिक्षार्थी शिक्षकले सिकेका कुरा कक्षाकोठामा अभ्यास गर्न लगाइन्छ र नियमित कक्षा अवलोकन, शिक्षण अभ्यासको अवसर, आवश्यक पृष्ठपोषणलगायत काम गराउँदै सक्षमता हासिल गराइने बताइएको छ । आवश्यक शिक्षण कौशल र ज्ञानयुक्त शिक्षक तयार पार्न, शिक्षण पेशालाई इज्जतदार पेशाको रुपमा स्थापित गर्न, कक्षाकोठा बालमैत्री बनाउन, प्र्रभावकारी शिक्षकको खोजीमा रहेका विद्यालय शिक्षणसिकाइमा अवसर खोजिरहेका व्यक्ति, गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकार भएका बालबालिका बीचमा सेतुको काम गर्ने नवोदय ईनोभेसनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*