एमालेले छोडेको पाँच मन्त्रालय जम्कट्टेलको काँधमा

साझाकुरा
२०८१ असार २८, बिहीबार १४:१७

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्कट्टेलको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिँदै ५ मन्त्रीले सामूहिक राजीनामा दिएसँगै मुख्यमन्त्रीको काँधमा थप जिम्मेवारी आइपरेको हो ।केन्द्रमा सत्तासमिकरण परिवर्तनको सहमति बनेसँगै प्रदेश सरकारबाट गत असार २४ गते एमाले सरकारबाट बाहिरिएको हो । २०८० चैत १७ मा सरकारमा सहभागी भएको एमालेले ४ महिनामा नै सरकारबाट बाहिरिएर संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड (क) बमोजिम मन्त्रीको राजीनामा गराएको हो ।

केन्द्रमा एमाले कांग्रेस सत्तासमीकरण बनेसँगै प्रदेशमा पनि सोहीअनुसार सरकार गठनका लागि एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका थिए ।उनीहरुको राजीनामा पछि प्रदेशप्रमुख यादवचन्द्र शर्माले मौजुदा मन्त्रिपरिषद्को पुनः गठन गरेका थिए । प्रदेशप्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा मन्त्रीविहीन रहेका मन्त्रालयहरु आर्थिक मामिला तथा योजना मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको कार्यभार मुख्यमन्त्रीलाई तोकेका हुन् ।

प्रदेशका १३ मन्त्रालयमध्ये ८ मन्त्रालयमा मन्त्री कायम रहेका छन् । सरकारमा ८ मन्त्रालयमध्ये माओवादी केन्द्रका ४, एकीकृत समाजवादीको ३ र हाम्रो नेपाली पार्टीको १ मन्त्री कायम रहेका छन् । सरकारमा मुख्यमन्त्री जम्कट्टेलसहित माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, युवा तथा खेलकुदमन्त्री रमा आलेमगर र संस्कृति पर्यटन तथ सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य कायम रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*