बागमतीमा ७ वर्षपछि सत्ताबाट बाहिरिँदै मुख्यमन्त्री जम्कट्टेल

साझाकुरा
२०८१ असार २९, शुक्रबार ११:४२

हेटौंडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ७ वर्षपछि सत्ताबाट बाहिरिँदै छन् । प्रदेशको पहिलो कार्यकालको पाँचवर्ष आन्तरिक मामिला तथा कानुनमन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा छन् ।१८ महिना महिना मुख्यमन्त्री भएका उनी नयाँ सत्तासमिकरण नेपाली कांग्रेस र नेकपा एमालेको पोल्टामा पुगेपछि सरकारबाट बाहिरिँदै छन् । सत्तासाझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन २४ असारमा फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनले राजीनामा नदिने र विश्वासको मत लिने बताएका छन् । प्रदेशसभाको बहुमत अर्थात् ६४ सांसद (एमाले (२७) र कांग्रेस (३७) सँग) रहेकाले जम्कट्टेलको बर्हिगमन निश्चित छ ।

जम्कट्टेल २८ माघ २०७४ मा मुख्यमन्त्री नियुक्त डोरमणि पौडेल नेतृत्वको तत्कालीन नेकपा सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । नेकपाभित्र एमालेका पौडेलले मुख्यमन्त्री लिएपछि माओवादीतर्फबाट उनले दोस्रो ठूलो हैसियतको मन्त्रालय सम्हाले । ४२ महिना कानुनमन्त्री चलाएका जम्कट्टेल नेकपा विभाजन भएपछि मात्रै मन्त्री पदबाट हटे ।बागमतीमा नेकपा माओवादी केन्द्रबाट साढे ६ वर्षसम्म निरन्तर सत्तामा रहेका एक्ला सांसद हुन, जम्कट्टेल । उनले २०७८ को भदौदेखि १० कार्तिकसम्म दुई महिना प्राविधिक रुपमा मात्रै सरकार बाहिर बस्नु प¥यो । तत्कालीन नेकपा फुटसँगै एमाले विभाजनको संघारमा पुग्दा २ भदौ २०७८ देखि १० कार्तिकसम्म अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा भने जम्कट्टेल सरकारबाट बाहिर रहे ।

प्रदेशसभामा एकल बहुमत रहेको एमाले विभाजनसँगै शाक्य अल्पमतमा जाने र नयाँ सरकार बन्ने गरी राजनीतिक घटनाक्रम अगाडि बढिसकेकाले जम्कट्टेल पुनः सत्तामै फर्किने बाटो खुला थियो । पार्टी विभाजनको क्षति कम गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले डोरमणि पौडेललाई संसदीय दलबाट राजीनामा दिन लगाएर शाक्यलाई नेता बनाएका थिए ।दलका नेता बनेकै दिन शाक्य एमालेको एकल बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेकी हुन् । सरकार बनाउन ५५ सांसद चाहिनेमा एमालेसँगै ५५ सांसद नै थिए । माधव नेपालले २ भदौमा नयाँ पार्टी नेकपा एमाले(समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि शाक्यसहितका नेताहरुले उनको साथ छोडेका थिए ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपाल पक्षले नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । यसअघि नेपाल पक्षमा २२ जना थिए । १० कार्तिकमा प्रदेशसभाबाट विश्वासको मत लिने दिन राजीनामा दिएर उनी सरकारबाट बाहिरिइन् । उनले दुई महिना मुख्यमन्त्री भएर देशको पहिलो महिला मुख्यमन्त्रीको नाम मात्रै लेखाइन् ।

बागमती प्रदेशसभामा १ सय ९ सांसद रहेकामा सबैभन्दा ठूलो दल एमालेसँग ४३ सांसद, विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीका एक सांसद थिए ।शाक्यको बर्हिगमनसँगै कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट ११ कार्तिक ०७८ मा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने । एकीकृत समाजवादीका नेता पाण्डे नेतृत्वको सरकारमा जम्कट्टेल २५ कार्तिक ०७८ मा आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । एक वर्षपछि दोस्रो प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२) बाट विजयी भए र बागमतीको मुख्यमन्त्री बने ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशप्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई २५ पुस २०७९ मा प्रदेशको चौथो र प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त गरे । त्यतिबेला एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्तासमीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । त्यो सरकार साँढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो ।१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्तासमिकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भयो । यो सरकार पनि चार महिना मात्रै टिक्यो ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल चार महिनामै अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको कुर्सीमा रहेका जम्कट्टेल कुनै राजनीतिक घटनाक्रममा परिवर्तन नआए सम्भवत एक महिनाभित्रै सरकारबाट बाहिरिने सम्भावना छ । एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन कायम राखे पनि सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय अंक गणितको विकल्प छैन ।नयाँ सत्तासमिकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । केन्द्रीय समिकरण अनुसार बागमतीमा पनि सरकार गठन हुने भएकाले नयाँ गठबन्धनमा अन्य दल सहभागी हुने वा नहुने बारे अहिले नै टुंगो लागिसकेको छैन । मुख्यमन्त्रीमा कांग्रेस र एमाले दुवैले दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*